बर्दियामा ठुलो परिणाममा धातुका मूर्ति र भाँडा बरामद

बर्दिया । बर्दियामा प्रहरीले ठुलो परिणाममा पुरातात्त्विक मूर्ति र धातुका सामानहरू बरामद गरेको छ ।
आज बिहान ३ बजेको बाँसगढी नगरपालिका –५ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको भे १ च १६९७ नं को बलेरो गाडीबाट प्रहरीले े ठुलो परिणाममा पुरातात्त्विक मूर्ति र धातुका सामानहरू बरामद गरेको हो ।
प्रहरीले १० थान धातुको मूर्ति, धातुका फूलदानी, करुवा, कलश, प्याला ,टुकी , घण्ट, खड्करो, कसौडी लगायतका ७१ थान भाँडा बरामद गरेको छ ।

त्यसैगरी, विभिन्न किसिमका अटोमोबाइल्स (गाडीका पाटपुर्जा)का सामानहरू समेत बरामद गरिएको छ ।
प्रहरीले सामान ओसारपसार गर्नका लागि प्रयोग गरिएको बलेरो जिपसँगै जिपका चालक गुलरिया नगरपालिका –११ बस्ने २१ वर्षीय संजय राढ र सहयोगी भारतको बहराइच जिल्ला लौकाही बस्ने ४८ वर्षीय जब्बर खाँलाई नियन्त्रणमा लिइएको छ ।

सामान गाडी र मानिसलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताउनुभयो ।
रातिको समयमा शङ्कास्पद तरिकाले गाडीमा राखी लैजाँदै गर्दा प्रहरीले चेकजाँच गरेको थियो । सोही क्रममा १४ वटा पोकामा प्याकिङ गरेको अवस्थामा पश्चिमबाट पूर्व लैजाँदै गर्दा फेला पारेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
उहाँले पक्राउ परेकालाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गतको कसुरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढेका बताउनुभयो ।

पक्राउ परेका धातुका सामानहरू काठमाडौँमा रहेको पुरातत्त्व विभागमा चेकजाँचका लागि पठाउने तयारी भइरहेको र चेकजाँच पश्चात् पक्राउ परेकालाई सोही अनुसार कानुनी कारबाहीमा लैजाने उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्