जनताले देख्ने र अनुभूति गर्ने गरी वर्तमान सरकारले काम गर्छ : मन्त्री गुप्ता

बीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले यो सरकार राष्ट्रिय सहमतिको सरकार भएको हुँदा यसले मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अगाडि बढाउने बताउनुभएको छ ।
पर्साको पोखरीया नगरपालिकाद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले अहिले सरकार दुई तिहाइ बहुमतको सरकार भएको उल्लेख गर्नुहुँदै नेपाली कांग्रेस र एमाले बीचको सहमति र सहकार्यबाट अब देशमा अलमल र अन्यौलको राजनीति अन्त्य हुने बताउनुभयो ।
मन्त्री गुप्ताले पर्साको क्षेत्र नम्बर ३ बाट निर्वाचित एक जना सांसद र दुई जना प्रदेशसभा सदस्य गरी तीनै जना संघीय र प्रदेशको मन्त्री बन्ने सौभाग्य जुटेको भन्नुहुँदै यस क्षेत्रका जनताको आशा र भरोसालाई आफूहरूले टुट्न नदिने बताउनुभयो ।
मन्त्री गुप्ताले वर्तमान सरकारको सामु धेरै चुनौतीहरू रहेको भए पनि देश र जनतालाई समृद्ध बनाउँदै देशमा अमूल परिवर्तन ल्याउने काममा सरकार पछाडि नपर्ने बताउनुभयो ।

उहाँले देशमा परिवर्तन र समृद्धि ओली प्रधानमन्त्री हुँदा भएको कारण नेपाली जनताको आसा र भरोसाको केन्द्र बनेको वर्तमान सरकारले जनताले देख्ने र अनुभूति गर्ने गरी काम गर्ने बताउनुभयो ।
पोखरीया नगरपालिकाका नगर प्रमुख प्रद्युम्न चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा, लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्