तपाईँ सुन्दै हुनुहुन्छः

इथियोपियामा पहिरोमा परी एक सय ४६ को मृत्यु

दक्षिणी इथियोपियामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १४६ पुगेको मङ्गलबार स्थानीय अधिकारीले बताएका छन् ।  

अधिकारीले मृतकको  सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।

अधिकारीका अनुसार दक्षिण इथियोपियाको पहाडी क्षेत्रमा भएको भारी वर्षाले सोमबारको पहिरो निम्त्याएको हो  ।

‘इथियोपियाको गोफा क्षेत्रको गेजे–गोफा जिल्लामा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छ’, गोफा क्षेत्र सञ्चार मामिला विभागले स्थानीय अधिकारी हाब्तामु फेटेनालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पहिरोमा परी ज्यान गुमाएका ९६ जना पुरुष र ५० जना महिलाको शव फेला परेको जानकारी दिँदै खोजी तथा उद्धार कार्य जारी रहेको हाब्तामुले बताउनुभयो । 

सरकारी सञ्चार माध्यम ‘फाना ब्रोडकास्टिङ कर्पोरेट’ ले सार्वजनिक गरेका तस्बिरहरूमा सयौँ मानिसहरू प्रभावित भएको पहिरोको विनाशकारी दृश्य प्रसारण गरिएको छ । 

दक्षिण इथियोपियामा  अप्रिल र मे महिनामा भएको मौसमी वर्षाले निम्त्याएको बाढीपहिरोले कयौँ मानिसहरूलाई  विस्थापित गरेको संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय ओसिएएचएले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button