तपाईँ सुन्दै हुनुहुन्छः

कविता सङ्ग्रह ‘अभिलाषाका झारहरू’को लोकार्पण

काठमाडौँ । अङ्ग्रेजी साहित्यमा सक्रिय तथा शिक्षण पेसामा क्रियाशील राजेन्द्र ओझा ‘नयन’ द्वारा लिखित कविता सङ्ग्रह ‘अभिलाषाका झारहरू’को लोकार्पण भएको छ ।

नेपाली साहित्यतर्फ ‘नयन’ को ‘अभिलाषाका झारहरू’ पहिलो कृति हो ।

शनिबार काठमाडौँमा आयोजित विमोचन समारोहलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्राज्ञिक थलोको रूपमा रहेको प्रज्ञा–प्रतिष्ठानबारे शिक्षकहरू नै अनभिज्ञ हुनु दुःखद रहेको बताउनुभयो । उहाँले शिक्षकहरूलाई प्रज्ञा–प्रतिष्ठानजस्तो प्राज्ञिक थलोबारे जानकार नहुनुले प्रतिष्ठानको औचित्यमाथि प्रश्न उठेको बताउनुभयो ।

अक्षरको खेतीतिर लाग्ने व्यक्तिले लोभ नपाल्ने भएकाले कुनै पनि कवि तथा लेखकलाई खराब काम गर्नबाट ऊभित्रको अर्को मान्छेले रोक्ने राईको भनाइ थियो । त्यसैले अक्षरको महत्त्वबारे सानै उमेरबाट सिकाउनुपर्ने आवश्यकता महसुस गरेर गत वर्षदेखि विद्यालयहरूमा कुलपति कार्यक्रम सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो ।

लेखक तथा समालोचक महेश पौड्यालले विभिन्न फोरमहरूमा राजेन्द्र र आफूले संयुक्त रूपमा कविता वाचन गरेको, कति कविता वाचन प्रतियोगितामा संयुक्त रूपमा निर्णायकको भूमिका निभाएको र आफूले कवि नयनभित्र प्रचुर मात्रामा कवित्व भेटेको र मनोविश्लेषण गर्न मिल्ने विषय ‘अभिलाषाका झारहरू’ मा संगृहीत रहेकाले उहाँ मनोविश्लेषक कवि भएको बताउनुभयो ।

नयनले ‘अभिलाषाका झारहरू’ मार्फत मनोभावलाई सूक्ष्म विश्लेषण गरेकाले यस सङ्ग्रहले आफ्नो चैतन्य जागरण हेतु आफ्नो मनलाई बुझ्नसमेत सहयोगी बन्न सक्ने उहाँको भनाइ थियो ।

त्यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञिक सदस्य डा। कौशिला रिसालले गद्य लयमा धेरै अनुप्रास मिलाइएका कविता ‘अभिलाषाका झारहरू’मा सङ्गृहीत रहेको र नेपाली समाजमा विद्यमान असमानता तथा भेदभावका विरुद्ध समेत यस कृतिले बोलेको बताउनुभयो ।

कविता सङ्ग्रह ‘अभिलाषाका झारहरूमा’ स्वप्न, खुसी, द्वन्द्व, सुनौलो युग, मीठो निद्रा, भाग्यको मसी तथा अभिलाषाका झारहरू लगायत ४५ वटा कविता सङ्गृहीत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button