रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय दिपायलबाट बैतडेली भाषामा समाचार शुभारम्भ

दिपायल । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय दिपायलबाट बैतडेली भाषामा समाचार शुभारम्भ भएको छ ।
आज एक कार्यक्रमका बीच रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय दिपायलबाट बैतडेली भाषाको शुभारम्भ गरिएको हो ।
दिपायल सिलगढी नगरपालिका नगरप्रमुख बाजी सिं खड्काले सुदूरपश्चिम प्रादेशिक प्रसारण कार्यालय दिपायलबाट दिउँसो ३:१५ बजे बैतडेली भाषाको समाचार प्रसारणको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले भाषाहरूको संरक्षण एवं संवर्द्धन गर्नु राम्रो भएको उल्लेख गर्नुहुँदै जिल्ला–जिल्लामा बोलिने भाषालाई स्थान दिँदै जाँदा सुदूरपश्चिमको पहिचान बोकेको डोटेली भाषालाई पनि नबङ्ग्याउन आग्रह गर्नुभयो ।

डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले रेडियो नेपालले भाषा भाषीको संरक्षण संवर्द्धन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलका निमित्त कार्यालय प्रमुख दान सिंह ऐरले मुलुकको बहुभाषिक नीति अनुरूप सबै भाषाहरूको संरक्षण एवं संवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यका साथ रेडियो नेपालबाट बैतडेली भाषामा समाचार प्रसारण सुरु गरिएको बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा, नगर प्रमुख खड्का, डोटीका प्रमुख जिल्ला अधिकारी अर्याल, प्रहरी उपरीक्षक विष्णुहरि कोइराला ,सशस्त्र प्रहरी उपरीक्षक सुधीर सुवेदी ,डोटी बहुमुखी क्याम्पसका उपप्राध्यापक होमनाथ जोशी, नेपाल पत्रकार महासङ्घका डोटीका सचिव पवन महरा, वरिष्ठ प्राविधिक अधिकृत गिरिराज निरौला लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्राविधिक अधिकृत नारायणदत्त पनेरूले राख्नु एको थियो भने कार्यक्रमको सञ्चालन चक्र कुँवरले गर्नुभएको थियो ।
बैतडेली भाषाको समाचार प्रसारण थप भएसँगै रेडियो नेपालले समाचार प्रसारण गर्ने भाषाको सङ्ख्या २४ पुगेको छ भने २३ भाषामा कार्यक्रम प्रसारण हुने भएको छ ।







प्रतिक्रिया राख्नुहोस्