सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माको बिदाइ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि रेखा शर्मा आफ्नो आफ्नो १८ महिने कार्यकाल पुरा गरी आज मन्त्रालयबाट बिदाइ हुनुभएको छ ।
मन्त्रालयमा आज आयोजित बिदाइ समारोहमा मन्त्री शर्माले पदमा रहुन्जेल आफूले सुशासन सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर काम गरेको र मन्त्रालय मातहतका निकायमा सेवा प्रवाहलाई सहज बनाउन विभिन्न नीतिगत सुधारहरू भएको बताउनुभयो ।
मन्त्री शर्माले नेपाल सरकार र इन्टरनेट सेवा प्रदायकहरू बीचको रोयल्टी विवाद, टेरामक्स प्रणाली, एनसेलको सेयर खरिद विक्री, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को खरिद प्रक्रिया लगायतका विषयमा उठेका प्रश्नहरूमा मन्त्रालयको धारणा स्पष्ट गरी सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
मन्त्री शर्माले आफ्नो कार्यकालमा औषधि उपचार लगायतका विभिन्न कामको सिलसिलामा भारतमा रहेका नेपालीहरूलाई सहज रुपमा भारतीय सिम कार्ड उपलब्ध गराउने व्यवस्था सुरु भएको, नेपाल टेलिकमबाट भारत र थाइल्याण्डमा रहेको नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महशुल घटाउको, डिजिटल पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको पनि बताउनुभयो ।
मन्त्री शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनको पुनः संरचना गरी सार्वजनिक सेवा प्रसारणको रुपमा स्थापित गर्ने उद्देश्यले सार्वजनिक सेवा प्रसारण विधेयक अगाडि बढाएको र हाल सो विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको उल्लेख गर्नुभयो ।
आमसञ्चार माध्यममा सबै नागरिकको पहुँच स्थापित गर्न राष्ट्रभाषाका कार्यक्रमहरू थप गरी रेडियो नेपालबाट विभिन्न २२ , गोरखापत्रबाट ४३ र नेपाल टेलिभिजनबाट १४ भाषाका समाचार तथा कार्यक्रमहरू प्रसारण तथा प्रकाशन भइरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले राष्ट्रिय समाचार समितिबाट समेत मातृभाषामा समाचार सेवा सुरु भएको बताउनुभयो ।
बिदाइ समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी तथा सञ्चार मन्त्रालय र मन्त्रालय मातहतका विभिन्न निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्