सर्लाहीको मलंगवाबाट बीरगञ्जतर्फ आउँदै गरेको बस दुर्घटना, १४ जना घाइते

बीरगंज । सर्लाहीको मलंगवाबाट बीरगञ्जतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
सर्लाहीको मलंगवाबाट बीरगञ्जतर्फ आउँदै गरेको ना४ख ७१९४ नम्बरको बस आज बिहान १०ः०० बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पसाहा पुल नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका हुन ।
बाराको पसाह खोला नजिकै बस पल्टिँदा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।
अविरल वर्षा भइरहेको समयमा तीव्र गतिमा रहेको बसले ओभरटेक गर्न खोज्दा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये रौतहटको बिन्दावन नगरपालिका–१ बस्ने ४२ वर्षीय संझा देवीको अवस्था गम्भीर रहेको छ । उनको छातीमा चोट लागेको हुँदा प्राथमिक उपचारपछि सिमरा अस्पतालबाट बीरगंजस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा भर्ना गरिएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा बाराको निजगढ नगरपालिका–९ बस्ने ३६ वर्षीय तिरजा उप्रेती, रौतहटको चन्द्रपुर नगरपालिका–६ बस्ने ४८ वर्षीय रामबाबु चौधरी र बाराको जीतपुर सिमरा उपमहानगरपालिका–३ बस्ने २० वर्षकी लक्ष्मी घिसिङ रहेका छन् ।
त्यसैगरी अन्य घाइतेमा बाराको निजगढ नगरपालिका–९ बस्ने २८ वर्षीय रविन तामाङ, सोही स्थानका ३१ वर्षीय लरेन्स लामा, रौतहटको चन्द्रपुर नगरपालिका–६ बस्ने ४० वर्षीय नवराज आचार्य, बाराको जीतपुर सिमरा उपमहानगरपालिका ३ बस्ने २२ वर्षीय आशा तामाङ, बाराको कलैया उपमहानगरपालिका–१३ बस्ने २५ वर्षीय रिकदेव प्रसाद यादव, रौतहटको गरुडा नगरपालिका–९ बस्ने ३३ वर्षीय लालबुबा दास, सोही स्थानका २४ वर्षीय कैलाश यादव, सोही स्थानका ३२ वर्षीय राम उदगर साह, सोही स्थानका १७ वर्षीय राकेशकुमार यादव र बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१४ बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारी रहेको र उनीहरू खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बसका सहचालक सर्लाही मलंगवा नगरपालिका–१० बस्ने २८ वर्षीय राकेशकुमार शाहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाएको छ ।
बस चालक सर्लाहीको मलंगवा नगरपालिका–९ बस्ने ४५ वर्षीय जयनारायण महतो फरार रहेका छन् ।
बसमा २६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्