तपाईँ सुन्दै हुनुहुन्छः

मधेश सरकारमा काँग्रेसले पठाउने चार मन्त्रीको नाम टुङ्गो लाग्यो 

जनकपुरधाम । नेपाली काँग्रेसले मधेश सरकारमा जान ४ जनाको नाम टुङ्गो लगाएको छ । कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको आज बसेको बैठकले सरकारमा पठाउन ४ जनाको नाम टुङ्गो लगाएको हो । 

कांग्रेसका तर्फबाट रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायलाई सरकारमा पठाउने टुङ्गो लगाएको काँग्रेस श्रोतले जनाएको छ । 

काँग्रेसले चार जनाको नाममा छलफल गरे पनि मुख्यमन्त्री सतिशकुमार सिंहले तीनवटा मन्त्रालय दिने तयारी गरेका छन् । प्रदेश सभामा कांग्रेसको २२ सिट छ । २५ सिटको एमाले ४ मन्त्रालय लिएर सरकारमा छ ।

काँग्रेसलाई चार मन्त्रालय दिए एमालेले थप एक मन्त्रालय पाउनुपर्ने नेकपा एमालेको माग रहेका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा एमालेलाई यस विषयमा छलफल गर्न बोलाउनु भएको छ । केन्द्रमा कांग्रेस र एमालेको समीकरण बनेपछि मधेशमा जनमत सरकारलाई निरन्तरता दिने सहमत भएको थियो ।

कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सिंहले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टी तथा नेपाल संघीय समाजवादी पार्टीका १ मन्त्रीलाई हिजो बर्खास्त गर्नु भएको थियो । 

यसै बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले काँग्रेसलाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिनु भयो । सहमति भए आजै सरकारको विस्तार गर्ने बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button