झापामा हात्ती आगमन सूचना प्रविधि केन्द्र स्थापना: सभामुखद्वारा उद्घाटन

झापा । जङ्गली हात्तीबाट अति प्रभावित झापामा हात्तीसँगको द्वन्द्वलाई सह–अस्तित्वमा रूपान्तरण गर्ने उद्देश्यले हात्ती आएको सूचना दिने प्रविधिसहितको हात्ती आगमन सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ ।
भारतीय जङ्गली हात्ती प्रवेश गर्ने मेचीनगरको बाहुन डाँगीमा स्थापना गरिएको उक्त केन्द्रको शुक्रबार एक समारोहका बीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभएको छ ।
सभामुख घिमिरेले बाहुन डाँगी बजार पूर्वको खाली रहेको छोटी भन्सारको भवनमा स्थापना गरिएको हात्ती आगमन सूचना प्रविधि केन्द्रमा जडान गरिएको साइरन लुना एपमार्फत बजाएर उद्घाटन गर्नुभएको हो ।
केन्द्रको उद्घाटनपछि सभामुख घिमिरेले यो प्रविधिको प्रयोगले हात्तीका कारण हुने क्षति न्यूनीकरण गर्न सकिने बताउनु भयो । उहाँले यसरी प्रविधिको माध्यमबाट हात्ती आएको जानकारी पाउँदा मानिसहरूलाई सुरक्षित रहन समय मिल्ने र त्यसले मानवीय क्षति नहुने बताउनु भयो ।
कार्यक्रममा जडान गरिएको प्रविधिको विषयमा उज्यालो नेपाल बर्दियाका प्रमुख रमेश थापाले जानकारी गराउँदै मानव हात्ती द्वन्द्व नियन्त्रणका लागि नेपालमै पहिलो पटक बाहुन डाँगीमा यो प्रविधि जडान गरिएको बताउनु भयो । उहाँले यो प्रविधिले जिपिएसको माध्यमबाट हात्तीको जानकारी दिने लुना एप डाउनलोड गर्नुपर्ने बताउनु भयो ।
यो प्रविधि जडान गर्न बर्दियाको उज्यालो नेपाल नामक संस्थाले प्राविधिक सहयोग गरेको मेचीनगर वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्