सामाजिक विचलन रोक्न साहित्यिक पत्रकारिताको भूमिका महत्वपूर्ण : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदमा रहे या नरहे पनि आफू समाज परिवर्तनका लागि भुईमान्छेकै पक्षमा निरन्तर लागिरहने बताउनुभएको छ ।
नेपाल साहित्यिक पत्रकार सङ्घको १८ औँ स्थापना दिवसको अवसरका काठमाडौँमा आज आयोजित कार्यक्रममा मन्त्री शर्माले इमान र निष्ठाका साथ काम गर्नेहरू छेउ लागिरहेको भन्दै त्यसतर्फ साहित्यिक कलम चल्नुपर्ने बताउनुभयो ।
मन्त्री शर्माले आचरण, विचार र निष्ठामा आएको विचलन रोक्न साहित्यिक पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताउँदै युवा र समाजलाई भ्रष्टिकरण र स्खलित हुनबाट जोगाउन आवश्यक रहेको बताउनुभयो ।

पत्रकारिताको जननी साहित्यिक पत्रकारिता भएको बताउँदै मन्त्री शर्माले वर्तमान परिवर्तनसँगै राजनीतिक परिवर्तनमा पनि यसको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
मन्त्री शर्माले परिवर्तनको जगमा टेकेर आएको सरकार भुईँ मान्छेको हितमा काम गर्ने जो केहीलाई पनि सहयोग गर्न तत्पर रहेको स्पष्ट पार्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले साहित्यिक पत्रकारिताले सौन्दर्यशास्त्र र समाजमा संस्कृति निर्माण गर्ने बताउनुभयो ।
कुलपति राईले साहित्यिक पत्रकारिता घाट तारिदिने माझीजस्तै भएको भन्दै साहित्यिक पत्रकारिताको महत्व ज्यादै ठूलो भएको बताउनुभयो ।
सौन्दर्य शास्त्री निनु चापागाईँले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको छवि अहिलेसम्म स्वच्छ देखिएको भन्दै आगामी दिनमा पनि यस्तो छवि कायमै राख्न आग्रह गर्नुभयो ।

नेपाल साहित्यिक पत्रकार संघ अध्यक्ष मोहन दुवालले सङ्घले स्थापनादेखि सक्रियताका साथ सबैलाई समेटेर अघि बढिरहेको बताउँदै हुलाक सेवा र विज्ञापनका क्षेत्रमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
संघका उपाध्यक्ष रामप्रसाद पन्तले साहित्यिक पत्रकारितालाई पनि राज्यले उत्तिकै महत्व दिनुपर्ने भन्दै प्रज्ञा प्रतिष्ठानले पुरस्कृतको थालनी गरेकोप्रति खुसी व्यक्त गर्नुभयो ।
नेपाल साहित्यिक पत्रकार सङ्घले साहित्यिक पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान समेत गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्