तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलामा हावाहुरीले विद्यालयको छाना उडायो

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर-४ तल्लो काँडापारिमा रहेको भूमिराज आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएको छ । असार ३ गते सोमवार साँझ चलेको हावाहुरीले विद्यालयको चार कोठे भवनको छाना उडाएको विद्यालय प्रशासनले जनाएको छ । 

जस्तापाताले छाएको चार कोठे विद्यालय भवनको पूरै छाना उडाएको   विद्यालयका प्रधानाध्यापक शङ्कर दत्त भट्टले बताउनु भयो । उहाँका अनुसार हावाहुरीले पत्थरले छाएको एउटा भवनमा समेत क्षति पुगेको छ । 

भवनमा क्षति पुगेसँगै विद्यालयभित्र रहेका शैक्षिक सामाग्रीमा क्षति भएको छ । २०६५ सालमा निर्माण भएको विद्यालय भवनमा दोस्रोपटक हावाहुरीले क्षति गरेको छ । यो ठाउँमा पक्की विद्यालय भवन निर्माण गरेमात्रै विद्यालय सञ्चालन गर्न सकिने अवस्था रहेको प्रधानाध्यापक भट्टको भनाई छ । 

२०५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयको भवनमा क्षति पुगेपछि नियमित पढाई समेत प्रभावित भएको छ । “भवनमा क्षति भएपछि पहिलो दिन विद्यार्थीलाई एउटै ठाउँमा राखेर पढायौँ, यस्तो गर्मीको बेला सबै विद्यार्थीलाई एउटै ठाउँमा राख्न सकिने अवस्था छैन । “उहाँले भन्नु भयो 

प्रतिक्रिया राख्नुहोस्

Back to top button