तपाईँ सुन्दै हुनुहुन्छः

किशोरीहरूलाई विद्यालयमै आत्मरक्षा तालिम

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका एक सय ५० किशोरीलाई सुरक्षा तथा आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिएको छ ।

किडपावर नेपालको सहयोगमा गाउँपालिकाद्वारा किशोरीहरूलाई तालिम प्रदान गरिएको हो । कैलाश गाउँपालिका–३ कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना छात्रालाई तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले बताउनुभयो । उहाँले छात्राहरूको आत्मरक्षा र सुरक्षाका लागि आगामी नीति तथा कार्यक्रममा समेट्दै गाउँपालिकाका सबै छात्राहरूलाई उक्त तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय बालअधिकार परिषद् नेपालका सदस्य तथा किडपावर नेपालका अध्यक्ष सुष्मा पोखरेलले सुरक्षा र आत्मरक्षासम्बन्धी तालिम प्रदान गर्नुभएको थियो । उहाँले छात्राहरूलाई हुनसक्ने धम्की, दुर्व्यवहार लगायतका हिंसा न्यूनीकरण गर्न यस्ता तालिम ग्रामीण क्षेत्रमा आवश्यक रहेको बताउनुभयो । तालिम पश्चात् किशोरीहरूलाई विद्यालयमा पठनपाठनदेखि समुदायमा सुरक्षित र सहजता हुने उहाँको भनाइ छ ।

आज वडा नम्बर ९ स्थित कालिका उच्च माध्यमिक विद्यालयका थप एक सय जना छात्राहरूलाई उक्त तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । तालिम पश्चात् किशोरीले आत्मरक्षाका लागि सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । बुधबार कैलाश गाउँपालिका–१० स्थित रत्न ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत ६० जना छात्राहरूलाई उक्त तालिम प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button