ठोरीमा अन्तरक्रिया सम्पन्न, भारतीय पर्यटक भित्र्याउन नाकालाई प्राथमिकता दिइने
वीरगञ्ज । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु भएको भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल पार्न आज पर्साको ठोरीमा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विशेष गरी भारतीय पर्यटकलाई आकर्षण गर्न भरतपुर महानगरपालिकाद्वारा ठोरीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य ठाकुर ढकालले भरतपुर भ्रमण वर्षले पर्साको ठोरीदेखि चितवनको माडी नगरपालिका हुँदै भरतपुरसम्म, रत्ननगर नगरपालिकाको सौराहाबाट माडीको सोमेश्वर गढीसम्म, राप्तिको परेवाकोटबाट खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनाबाट गैँडाकोटको मौला कालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराइचुलीबाट बागमती प्रदेशकै होचो भू–भाग भरतपुर महानगरपालिकाको गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्यहरूको प्रवर्द्धनका लागि मुख्य भूमिका खेल्ने बताउनुभयो ।

उहाँले भ्रमण वर्ष सफल पार्न भरतपुर महानगरपालिकाले गरिरहेको कामको प्रशंसा गर्दै महानगरपालिकाको कार्ययोजनाले चितवनको मात्रै नभई पर्साको ठोरीमा समेत पर्यटन क्षेत्रमा आमूल परिवर्तन आउने दाबी गर्नुभयो ।
ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले भ्रमण वर्ष कार्यक्रमले चितवन सँगसँगै ठोरीलाई समेत आर्थिक केन्द्रको रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत देवी सहाय मिनाले भरतपुर भ्रमण वर्ष २०२४ ले नेपालको सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रिय स्तरमा उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो तर्फबाट भरतपुर भ्रमण बर्ष सफल पार्न आवश्यक सहयोग रहने बताउनुभयो ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले भरतपुर भ्रमण वर्षलाई दृष्टिगत गर्दै साँस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भूबनोट आदिको आधारमा महानगरले आफ्नो प्रमुख गन्तव्यहरू छुट्टाएको बताउनुभयो । उहाँले भरतपुरसँग दुर्लभ वन्यजन्तु अवलोकन र पर्यापर्यटनका लागि विश्वमै चिनिएको चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी राप्ती तथा नारायणी, सुन्दर पर्यटकीय नगरी मेघौली, गोलाघाट, पटिहानी, राइनोकुञ्ज भरतपुरका प्रमुख पर्यटकीय क्षेत्र रहेका र यसले पर्साको ठोरी हुँदै माडी तथा चितवनकै टाडीको सौराहा क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने दाबी गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले पछिल्लो ७ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ताराकाजी महतो, उपप्रमुख खेम महतो, चितवनका प्रमुख जिल्ला अधिकारी, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी, चितवन र पर्साका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरू, भारत पश्चिम चम्पारणका एसडिएम, नेपाल तथा भारतका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
विशेष गरी भारतीय पर्यटकलाई सहज रुपमा चितवन घुमाउने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र देव भारतीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्