तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु परिवर्तन न्यूनीकरण गर्न वन संरक्षण पहिलो उपाय : मुख्यमन्त्री महरा 

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले जलवायु परिवर्तन न्यूनीकरण गर्न वन नीति राम्रो हुनुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालय र वन निर्देशनालयको आयोजनामा दाङको लमहीमा भएको संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धी समीक्षा गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री महराले यस्तो बताउनुभएको हो । 

पछिल्लो समयमा जलवायु परिवर्तनले हैरान बनाएको भन्दै मुख्यमन्त्री महराले त्यसका लागि वातावरणको सन्तुलन राख्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो । वातावरण सन्तुलनमा राख्न संघ, प्रदेश र स्थानीय सरकारले वन संरक्षण र संवर्द्धनका लागि ध्यान दिनुपर्ने मुख्यमन्त्री महराले बताउनुभयो । वन जङ्गलको संरक्षणमा आउने समस्यालाई प्रदेश सरकार कानुन, नियम, कार्यविधि, नियमावली निर्माण गरेर काम गर्नका लागि तयार रहेको बताउनुभयो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा प्रदेश अन्तर्गतका वन सेवाका अधिकृतहरूको सहभागिता रहेको छ । कार्यक्रममा वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसी, कृषि तथा वातावरण समितिका सभापति विश्वदेव पाठकले प्रदेशको वन र वातावरण संरक्षणमा लागेको बताउनुभयो । 

कार्यक्रममा वन निर्देशनालयका निर्देशक दधिराम कँडेलले लुम्बिनी प्रदेशको समग्र वन स्रोत र व्यवस्थापन अवस्था, अवसर, चुनौती र भावी कार्यदिशा र वन संवर्द्धन प्रणालीका विषयमा डिभिजन कार्यालय कपिलबस्तुका प्रमुख विजयराज सुबेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

लुम्बिनी प्रदेशमा ५ लाख हेक्टर क्षेत्रफलमा वन संवर्द्धन प्रणालीमा आधारित व्यवस्थापन गर्न सकिने सम्भावना छ । जसबाट २० अर्ब आम्दानी हुने र बाहिर  काठ बिक्री गर्न सकेमा ५ अर्ब राजश्व सङ्कलन हुने अनुमान समेत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button