तपाईँ सुन्दै हुनुहुन्छः

सुनकोशी नदीको किनारबाट २५ टन प्लाष्टिकजन्य फोहोरमैला स्थानान्तरण 

काठमाडौँ । सुनकोशी नदीको किनारबाट २५ टन भन्दा बढी प्लाष्टिकजन्य फोहोरमैला निकाली स्थानान्तरण गरिएको छ ।

क्याप परियोजना अन्तर्गत क्रिएशन नेपाल र गोलन्जोर गाउँपालिकाको सहकार्यमा करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला सङ्कलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकिएको हो । 

शुक्रवार गोलन्जोर गाउँपालिकाको खुर्कोट–७ नदीको किनारमा विगत लामो समयदेखि फोहोर डम्पिङ साइटको रुपमा परिणत भएको हटस्पटबाट उक्त परिणामको प्लाष्टिकजन्य फोहोरमैला सङ्कलन गरी सफा गरिएको हो । 

क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाई अभियान परियोजना ले परिचालन गरेको युवा स्वयं सेवक (यूथ कोहर्ट), सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा करिब सय भन्दा बढी सहभागीहरूले सरसफाई अभियानमा सहभागिता जनाएका थिए । ‘क्याप परियोजना ’ नेपालमा प्लिज (प्लास्टिक फ्री रिभर्स एन्ड सीज अफ साउथ एसिया) को एक प्रमुख आयोजनाको रुपमा रहेको छ भने, यूनोप्स र विश्व बैङ्कको सहयोगमा दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप) द्वारा लागु गरिएको हो ।

सरसफाई अभियानमा प्रमुख अतिथिको रुपमा सहभागी भएका गोलान्जोर गाउँपालिका अध्यक्ष शङ्कर बरालले पालिकाले गर्नु पर्ने काम क्रिएशनले गरेर हामीलाई राम्रो काम गर्न मद्दत गरिरहेको बताउनुभयो । उनले बढ्दो सहरीकरणले गोलन्जोर गाउँपालिकालाई फोहोरमैलाको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ चिन्दा व्यक्त गर्दै क्रिएसन नेपालले सञ्चालन गरेको सरसफाई अभियान र फोहोरमैला व्यवस्थापन गर्ने काम प्रति पूर्ण प्रतिबद्धता रहेको बताए । अगाडि थप्दै उनले भने, गोलन्जोरमा फोहोरमैला व्यवस्थापन एक गम्भीर समस्याको रुपमा छ, झन प्लास्टिकका बोतलहरू जताततै पाइन्छ । नागरिक स्तरबाटै यसलाई न्युनिकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयाे ।

क्रिएशनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्वलाई विशेष जोड दिनुभयो । उहाँले भन्नुभयो, हामीले प्रकृति संरक्षण जस्ता महत्त्वपूर्ण कार्यको लागि अन्य प्रेरणा वा आर्थिक सहयोगमा मात्र भर पर्नु हुँदैन । यो प्रतिबद्धता हामी सबैलाई भित्रबाट आउनु पर्छ, ।  

उहाँले हामीले भविष्यका सन्ततिलाई सफा पहाड र हिमाल छोड्ने कि प्रदूषित चिन्तन गर्नुपर्ने बताउनुभयो । हामीले आज गरेको राम्रो कार्य, हाम्रो देश र हाम्रो समुदायको लागि मात्रै नभई हाम्रो भावी पुस्ताका लागि राम्रो वातावरण सुनिश्चित गर्ने हो विशाल उद्देश्यका लागि गरिएको बुझ्नुपर्ने अध्यक्ष मिश्रले बताउनुभयो । मिश्रले राजमार्ग र खोलामा प्लाष्टिक प्रदूषण न्यूनीकरणका लागि क्रिएसनसँग सहकार्य गरेकोमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर बरालको पनि प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।

क्याप परियोजना प्रमुख उज्ज्वल उपाध्यायका अनुसार यस परियोजनाको एक भागका रूपमा हामी सबै गोलन्जोरमा नदी सरसफाइको काम सुरुवात गरेको र कम्तीमा १२ वटा नदी सरसफाई अभियान एक साथ सँगै सञ्चालन गर्ने बताउनुभयो । उहाँले परियोजना सञ्चालन हुने सात स्थानीय पालिकासँग परियोजना कार्यान्वयन गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरी सकेको जानकारी गराउँदै प्रमुख नदीहरूका प्लाष्टिकजन्य फोहोर चुहावट हुने स्थानमा नदी सरसफाई अभियान सञ्चालन गरिने बताउनुभयो । 

गोलन्जोर गाउँपालिकासँगको सहकार्यमा एक्साभेटर र दुईवटा ट्रिपर परिचालन गरी पालिकाद्वारा प्रस्तावित ल्यान्डफिल साइटमा स्थानान्तरण गरिएको हो । नयाँ ल्यान्डफिल साइटको लागि बाटो खोल्नुका साथै अब सफा गरिएको हटस्पटमा फोहोर नफालिने पालिकाबाट प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button