फेवातालमा फसेकी अस्ट्रेलियाकी नागरिकको सशस्त्र प्रहरीको टोलीद्वारा उद्धार
पोखरा । पोखराको फेवातालमा फसेकी विदेशी एक महिलाको सशस्त्र प्रहरी बल नं.२४ कालिका गणको विशेष उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।
बिहीबार अपराह्न अचानक आएको हावाहुरीका कारण तालको बिच भागमा अत्तालिएको अवस्थाबाट अस्ट्रेलियाकी नागरिक २७ वर्षिया लाउराको उक्त टोलीले सकुशल उद्धार गरेको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले बताउनु भयो ।
एक्लै काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार गर्दा उहाँलाई दिउँसो करिब ४ः४० बजे आएको हावाहुरीमा परी बिच तालमा अतालिएकी र उद्धारका लागि हार गुहार गरेको अवस्थामा उहाँलाई उद्धार गरिएको एसपी शर्माले जनाउनु भयो ।
एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको विशेष विपद् व्यवस्थापन टोली र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले उक्त घटना देख्ने बित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको थियो ।
वैशाख जेठमा आउने गरेको हावाहुरीले फेवातालमा डुङ्गा सयर गर्दा विशेष ध्यान दिन डुङ्गा व्यवसायीहरूले सचेत गराउँदै आउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्