तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगंजको तापक्रम ४३ डिग्री नाघ्यो

बाँके । नेपालगञ्जमा आज ४३ डिग्री सेल्सियस तापक्रम नाघेको छ । जल तथा मौसम विभाग कार्यालय कोहलपुरका प्रमुख रामविकेश रायका अनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४३.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

जल तथा मौसम विभाग कार्यालय कोहलपुरका प्रमुख रामविकेशले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४२.८ डिग्री सेल्सियसको रेकर्ड बिहीबार नै तोडिएको बताउनु भयो । बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ ।

यसैगरी अत्यधिक गर्मीका कारण बाँकेमा पोलियो रोगविरुद्धको आइपीभी खोप अभियान प्रभावित भएको छ । गर्मी र तातो हावा ‘लु’ का कारण नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका विद्यालय पाँच दिन बन्द भएकाले सो अभियान प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेका खोपका फोकल पर्सन नरेश श्रेष्ठले यही जेठ १३ गतेबाट जिल्लाका ३५ हजार ७०५ बालबालिकालाई आइपीभी खोप दिने लक्ष्यका साथ सुरु गरिएको अभियान अन्तर्गत जेठ १५ गते बेलुकासम्म १७ हजार ३३५ बालबालिकालाई खोप दिइसकिएको बताउनु भयो ।

श्रेष्ठले विद्यालय बन्द भएपछि विद्यालयमा स्थापना गरिएका खोप केन्द्रलाई समुदायमा स्थानान्तरण गरेर समुदायमा खोप दिन सुरु गरिएको बताउनु भयो । खोप अभियान सुरु भएको तीन दिनमा आठ हजार ३७७ बालिका र आठ हजार ९५८ बालक गरेर १७ हजार ३३५ लाई खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button