गणतन्त्र प्राप्तिपछि मुलुकको विकासले गति लिएको छः अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र प्राप्तिपछिका अवधिमा मुलुकको समग्र विकासले गति लिएको बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्वीर प्रदर्शनीको अवलोकनपश्चात् उहाँले मुलुकमा आर्थिक समृद्धिको प्रमुख आधार मानिएको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ भन्नुभयो ।

अध्यक्ष नेपालले गणतन्त्र स्थापनापछि नेपालमा ‘केही पनि भएको छैन’ भन्नेलाई फोटो प्रदर्शनीले गतिलो जवाफ दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्रपछिको अवधिमा विकास निर्माणको कार्य उपलब्धिमूलक भएको छ, त्यसको झलक प्रदर्शित तस्बिरले सबै कुरा यथार्थ रूपमा बोलेको छ ।”
पूर्वप्रधानमन्त्री नेपालले गणतन्त्रका उपलब्धिलाई जनतामाझ लैजान र जनताको पक्षमा काम गर्न सबै जिम्मेवारीकासाथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले गणतन्त्र प्राप्तिपछिका उपलब्धिलाई फोटोले सचित्र वर्णन गरेको पनि उल्लेख गर्नुभयो ।
यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्वीर समावेश छन् ।
विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरको पुनः निर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्वीर प्रदर्शनीमा राखिएका छन् । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्वीर प्रदर्शनीमा समेटिएका छन् ।
प्रदर्शनीमा ऊर्जा, विमानस्थल, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ–मधेस द्रुतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोशी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत बस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजनालगायत तस्वीर समावेश छन् । तस्वीर प्रदर्शनीमा विशिष्ट व्यक्ति र जिज्ञासु सर्वसाधारण आउने क्रम जारी रहेकाले प्रदर्शनीको समयावधि एक साता थप गरिएको छ ।रासस







प्रतिक्रिया राख्नुहोस्