तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराका विद्यार्थी बोकेको बोलेरो मुगुमा दुर्घटना १४ जना घाइते

बाजुरा । बाजुरा बाट रारा भ्रमणमा गएका विद्यार्थी बोकेको बोलेरो जिप मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ जाम हिलटपमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर दुई कोल्टीमा रहेको जनप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी सो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बाजुराको कोल्टी बाट रारा शैक्षिक भ्रमणका लागि निस्किएका कक्षा १० मा अध्ययनरत विद्यार्थी चढेको ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको श्रीकोट रोल प्रहरी चौकी मुगुका प्रहरी हवल्दार राजेन्द्र मल्लले जानकारी दिनुभयो ।

हवल्दार मल्लका अनुसार घाइते हुनेमा विद्यार्थी सर्मिला साहानी, लक्ष्मी रोकाया, प्रियाङ्का गिरी, ज्योति रोकाया, दीपिका रावत, विमला विष्ट, निशा दमाई, पशुपति बोहोरा, करुणा महत, सुरज शाही, रोजिना कार्की, शिक्षिका सुशिला गिरी, निर्मला भण्डारी र जीप चालक लाल बहादुर भण्डारी रहेका छन्।

मुगुको जाम हिलटपको उकालोमा चढ्न नसकेर जीप दुर्घटना भएको प्रहरी कार्यालय मुगुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घाइते विद्यार्थी, शिक्षिका र चालकको खत्याड गाउँपालिका वडा नम्बर १ स्थित प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको , जिप सडक बाट ३० मिटर तल खसेको र घाइते सबैको हात,खुट्टा,टाउको र ढाडमा चोट लागेको प्रहरी चौकी श्रीकोट रोल मुगुले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button