हुम्लाको दोजामा कर्णाली नदीमा डुबेर एक बालक बेपत्ता
सिमकोट । हुम्लाको दोजामा कर्णाली नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो दुई बजे सिमकोट गाउँपालिका–१ दोजामा गाउँ नजिक रहेको दोजामा कर्णाली नदी ४ वर्षीय बाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।
प्रहरी निरीक्षक चन्दका अनुसार, बुधबार दिउँसो दोजामा गाउँका अङजु लामाका छोरा चारवर्षका अनमोल लामा बेपत्ता भएको बताउनुभयो । गाउँ नजिक रहेको दक्षिण दोजामा कर्णाली नदीमा नुहाउन गएका बालक लामा बेपत्ता भएका हुन् । अहिले बेपत्ता भएका बालक लामाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बालक बेपत्ता भएको परिवारले बुधबार दिउँसो तीन बजे ग्याग्रु प्रहरी चौकीलाई जानकारी गराउनका साथ खोजी कार्य तीव्र पारिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
ग्याग्रु प्रहरी चौकीका पुष्कर सिंह कुवरको नेतृत्वको टोलीले अहिले त्यस आसपासका कर्णाली नदी क्षेत्रमा खोजी कार्य तीव्र पारिरहेको बताइएको छ । यस्तै बेपत्ता बालकको खोजीका लागि याङ्चु खार्पु प्रहरीचौकी,सर्किदेउ प्रहरी चौकी, तुम्च प्रहरी चौकीको टोलीले समेत खोजी कार्य तीव्र पारिरहेको छ । बेपत्ता भएका बालकको खोजी कार्य तीव्र पारिरहेको भएपनि भेटाउन नसकिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्