यार्सा सङ्कलन गर्न गएका युवाको हेलिकप्टर मार्फत उद्धार

जुम्ला । यार्सागुम्बा सङ्कलनका लागि डोल्पा पाटनमा गएर अलपत्र परेका जुम्लाका युवाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
डोल्पाको साल्दाङ फोतगाउँ क्षेत्रमा अलपत्र परेर अस्वस्थ भएका पातारासी गाउँपालिका वडा नं.३ मोहरीगाउँका ओमप्रकाश बुढालाई उद्धार गरिएको हो । ओम प्रकाश सहित चार जना युवा अलपत्र परेपनि ओम प्रकाश बुढाको स्वास्थ्य अवस्था नाजुक भएको र एक हप्तादेखि बिरामी परेकोले उनलाई मात्र तत्काल हेलिकप्टर मार्फत उद्धार गरिएको हो । भने अन्य तीन जना जय बुढा हिरालाल रावत र चन्नलाल रावतको अवस्था सामान्य भएकोले उनीहरू आएनन् ।
उद्धारका लागि हेलिकप्टर मंगलबारनै डोल्पा पाटन गएपनि हावाहुरीका कारण अवतरण हुन सकेको थिएन् । पुनः बुधबार बिहान हेलिकप्टर ताल्चा हुँदै डोल्पाको पाटनमा पुगेर अलपत्र युवाको उद्धार गरि जुम्ला ल्याइएको छ ।
उद्धारका लागि जिल्ला प्रशासन मार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय हुँदै केन्द्रमा माग गरेपनि सरकारी संयन्त्रले वास्ता नगरेपछि नीजि सहयोगबाट हेलिकप्टर व्यवस्थापन गरेर उद्धार गरिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले एक लाख २५ हजार, कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाहीले २० हजार र स्थानीय समुदायको सात लाख सहयोगमा हेलिकप्टर रिजर्भ गरि को उद्धार गरिएको हो ।
हेलिकप्टरबाट उद्धार गरी जुम्ला ल्याइएका ओम प्रकाशलाई श्वासप्रश्वास समस्या भएकोले थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।







प्रतिक्रिया राख्नुहोस्