तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १२ करोडको लगानीमा अत्याधुनिक कागज उद्योग सञ्चालनमा

बाँके । पश्चिम नेपालमै पहिलो पटक बाँकेमा १२ करोडको लगानीमा अत्याधुनिक कागज उद्योग सञ्चालनमा आएको छ । कम्पनीका अध्यक्ष ज्योतिलाल भण्डारीले ‘तत्काललाई २ टन प्रतिदिन उत्पादन क्षमताका रुपमा जुट, कटन, फाइबर मिक्स पेपर उत्पादन सुरु गरेका हौँ’, त्यसका लागि करिब १२ करोड लगानी गरिसकिएको बताउनु भयो । अध्यक्ष भण्डारीले ‘६ महिनाभित्र ३३ करोड लगानी पुग्ने अनुमान छ ।’ त्यससँगै २० टन उत्पादन दिने फोर्डिनियर डायर मेसिन जडान गरेर उत्पादन क्षमता बढाउँदै जाने योजना रहेको बताउनु भयो ।

एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा.लि. ले स्थानीय ह्याण्डमेड स्याक पेपर उत्पादन सुरु गरेको हो । आफै श्रमिक आफै मालिक, उत्पादन हाम्रै नेपालको भन्ने ध्येयका साथ झण्डै ५ सय करोड लगानीमा एक्सिलेन्ट पेपर मिल कम्पनी लिमिटेड स्थापनाको लक्ष्य राखेर स्थापना गरिएको एक्सिलेन्टले प्रारम्भिक उत्पादनका रुपमा ह्याण्डमेड स्याक पेपर उत्पादनको सफल परीक्षण गरेको कम्पनीका अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।

‘नेपालमै सामुदायिक उद्योगका रुपमा गरिएको सफल परीक्षणबाट हामी उत्साहित भएका छौँ’, ५३ जना शेयरधनी जोडिएको एक्सिलेन्टमा आधा बढी शेयर धनी आफै प्रत्यक्ष रोजगारीमा जोडिएको जानकारी दिँदै कम्पनीका निर्देशक राजेन्द्र चौधरीले भन्नुभयो, ‘अप्रत्यक्ष रुपमा बाँकी शेयरधनी पनि रोजगारीमा जोडिँदै जानुहुनेछ ।’ 

अध्यक्ष भण्डारीले ‘यसबाट कभर पेपर, फाइल बोर्ड, प्याकेजिङ्ग पेपर उत्पादन भइरहेको छ’, मेसिन सेटिङ्ग र सफल परीक्षणबाट उत्साहित भएको बताउँदै व्यावसायिक उत्पादनका लागि आवश्यक लगानीमा बैंकले धोका दिँदा तीन बर्ष ढिलो भएको गुनासो गर्दै भन्नुभयो, ‘हाम्रो योजना राप्तीसोनारी सेरोफेरोका १ हजार बढी स्थानीयलाई प्रत्यक्ष रोजगारीमा जोड्ने हो, तर बैंकिङ्ग क्षेत्रबाट भइरहेको असहयोगले तत्काल सानो स्केलमा सीमित जनशक्तिबाट कागज उत्पादनको सफल परीक्षण गरिरहेका छौँ ।’

अध्यक्ष भण्डारीले भन्नुभयो, ‘हामीसँग भएको १६ विगाह ४ कठ्ठा जग्गामा आंशिक कामका लागि साढे ४ विगाह भित्र रिसाइकल प्लान्ट डेभलप गरिएको छ’, उहाँले, ‘समुदायलाई जोड्दै रोजगारी र स्वामित्व विकास गर्नु हाम्रो योजना हो ।’

किसानले लगाउने बाँस, उखु, अम्रिसो घाँस, धान–गहुँका पराल–नलबाट कागजका लागि आवश्यक कच्चा पदार्थ पल्प तयारी कागज उत्पादन गरेर नेपाली बजारको कम्तीमा १५ प्रतिशत हिस्सा ओगट्ने योजनामा एक्सिलेन्ट पेपर कम्पनीको अवधारणाको नेतृत्व भण्डारीले गरेका छन् । ‘नेपालमै नयाँ र नौलो प्रविधिबाट फाइबर कटन मिक्स कागज उत्पादन सुरु गरेकाले बिस्तारै यसले लगानीकर्ताको मन जित्ने कुरामा हामी विश्वस्त छौँ’, भण्डारीको भनाइ छ, ‘छिट्टै यो उत्पादनलाई बजारमा पठाएपछि उपभोक्ताको पनि मन जित्ने कुरामा हामी ढुक्क छौँ ।’

एकातिर कागजमा भारत लगायत तेस्रो मुलुकका बजारको परनिर्भरता तोड्ने र अर्कोतिर फालिएका रद्दी कागज, कपडा, प्लाष्टिकको पुनः प्रयोग गरी फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने भएकाले एक्सिलेन्ट पेपर रिसाइकलका लागि तीन तहकै सरकारको सहयोगी भूमिका हुनुपर्ने सञ्चालकको अपेक्षा छ । सञ्चालक भण्डारीले सामुदायिक उद्योगको अवधारण सरकारले लिने जरुरी रहेको बताउनु भयो । 

प्रदेशसभा सदस्य कृष्णा केसी (नमूना)ले उद्योगको उद्घाटन गर्दै बाँकेमा उत्पादन सुरु गरेको एक्सिलेन्टले उदाहरणीय ढङ्गबाट उद्योग सञ्चालनमा ल्याएको बताउनु भयो । राप्तीसोनारी गाउँपालिका वडा नं. २ अमरुवामा एक्सिलेन्ट पेपर रिसाइकल उद्योग सञ्चालनमा आएको प्रति खुशी व्यक्त गर्दै केसीले, ‘आत्मनिर्भर अर्थतन्त्रका लागि यो महत्वपूर्ण जग हुनसक्छ ।’ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button