तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षण पेशा छोडेर कृषि कर्ममा जमेका नारायण

नवलपुर । नवलपरासी पूर्व कावासोती –१६ का नारायण प्रसाद लामिछानेको बारीमा यतिबेला तरकारी लटरम्म फलेका छन् । 

यो सिजनमा पाइने लौका  घिरौला , करेला , बोडी , टमाटर , फर्सीको मुन्टा र खरबुजा सबै तरकारी फलेको देख्न सकिन्छ । कृषक लामिछानेले  विगत सात वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । लामो समय शिक्षण पेसामा आफ्नो जीवन समर्पित गर्नुभएका लामिछाने अहिले तरकारी खेतीमै रमाउनु भएको छ र राम्रो कमाउनु पनि भएको छ । अङ्ग्रेजीमा डिग्री गर्नुभएर २५ वर्षसम्म अङ्ग्रेजी शिक्षकका रुपमा विद्यालय र क्याम्पसमा शिक्षण पेशा गर्नुभएको लामिछाने विगत सात वर्षदेखि कृषि पेसामा तल्लीन भएर लाग्नुभएको छ । अस्थायी दरबन्दीमा काम गर्दा विभिन्न बाधा अड्चन आएपछि उहाँले अन्ततः कृषि पेसालाई अँगाल्नु भएको हो । 

उहाँले १५ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँका दुई छोरा छन् । तरकारी खेतीबाट नै उहाँले एउटा छोरालाई इन्जिनियरिङ पढाउनुभएको छ । एउटा छोरा ६ वर्षको स्कुल पढ्छन् । कृषिका लागि  बैङ्कबाट लिएको २० लाख ऋणको ब्याज तिर्ने र घरखर्च चलाउने सबै खर्च तरकारी खेती बाट भएको आम्दानीले नै पुगेको छ । उहाँलाई बारीमा उहाँकी श्रीमती सन्तु माया भण्डारीले सघाउनुहुन्छ । श्रीमान् श्रीमती मिलेर नै बारीको सबै काम गर्नुहुन्छ ।   

‘शिक्षण पेशा गर्न चाहेको भए अवसर जति पनि थिए । तर मैले कृषि पेशा अँगाले म  यसैमा सन्तुष्ट छु । मेरो घरखर्च धानेर  छोराछोरी पठाउन र ब्याज तिर्न पुगेको छ ।  कृषिबाट राम्रै भएको छ भन्नुपर्छ, म यसैमा खुसी छु ।’  लम्सालले भन्नुभयो – ‘दुई पैसा कमाउनका लागि विदेश नै ताक्नुभन्दा आफ्नै देशमा पसिना बगाउन उचित ठाने , घरपरिवार समाजले त डिग्री गरेको मान्छे , किन कृषि गर्दै बसेको होला भन्छन् कतिपयले खिसीटिउरी समेत गर्छन् तर मैले त्यसको वास्ता गर्दिन । कुनै पनि काम सानोठूलो हुँदैन भन्ने बुझेको छु । त्यसैले  म कृषि पेशाबाट खुसी छु ।’

कृषि पेसामा लागिरहँदा कृषकका धेरै समस्या र चुनौतीहरू रहेको उहाँ बताउनुहुन्छ । बैकबाट ऋण पाउन मुस्किल हुने , मल, बीउ, सिँचाइका समस्या , उचित अनुदानका कार्यक्रम नहुने , बजारको समस्या यी विभिन्न समस्याबाट हरेक कृषक गुज्रनुपरेको उहाँ बताउनुहुन्छ ।  तर आफूले भने  सामाजिक सञ्जालको प्रयोगबाट बजारीकरणको काम गर्दै आएको उहाँले बताउनुभयो ।  ‘मैले सामाजिक सञ्जाललाई राम्रो बजारीकरणको माध्यम बनाएको छु । त्यसैले मलाई  उत्पादन बिक्री गर्न समस्या छैन ।’ उहाँले थप्नुभयो– ‘मैले तरकारी बारीका फोटो भिडियोहरू फेसबुकमा , टिकटकमा राख्छु । जसलाई देखेर   नजिकका त आउने नै भए । टाढा रहेका चिनेजानेका साथी सहपाठी , पूर्व सहकर्मीहरू समेत बेला मौकामा मकहाँ आएर तरकारी किनेर लानुहुन्छ । बारीबाट टिपेको ताजा तरकारी सहुलियत दरमा पाएपछि खुसी पनि हुनुहुन्छ । कहिलेकाहीँ उत्पादन बढी हुँदा म आफै गाडीमा राखेर बिक्री गर्न हिँड्छु नभए सबै बारीबाट नै बिक्री हुन्छ ।’  लामिछानेले भन्नुभयो । यस कार्यबाट सामाजिक सञ्जालको सही प्रयोग गर्न सकेमा त्यसबाट फाइदा  लिन सकिने रहेछ भन्ने उदाहरण समेत उहाँले जनमानसलाई दिन सफल हुनुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button