दुर्घटना न्यूनीकरणका लागि झापामा ट्राफिक प्रहरीसँग ‘पाँच मिनेट’ कार्यक्रम

भद्रपुर, झापा । सवारी दुर्घटना न्यूनीकरणका लागि झापामा प्रहरीले ‘दुई पाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान सञ्चालन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपानेले दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकलका यात्रु हुने गरेकाले दुई पाङ्ग्रे सवारी चालकलाई लक्षित गरी अभियान शुरु गरिएको बताउनुभयो ।
मोटरसाइकल दुर्घटनाको अवस्था भयावह बन्दै गएको बताउँदै उहाँले सवारी चालकलाई सजग गराउँदा दुर्घटना न्यूनीकरण हुन्छ भन्ने सोचेर ट्राफिक प्रहरीसँग पाँच मिनेट अभियान चलाइएको जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले अभियानलाई पूर्वपश्चिम राजमार्गमा केन्द्रित गरेको छ । अभियानअन्तर्गत ट्राफिक प्रहरीको टोलीले गुडिरहेका मोटरसाइकललाई किनारामा रोकेर चालकलाई पाँच मिनेट सवारी नियम र सुरक्षा सम्बन्धी प्रशिक्षण दिने गरेको छ ।
साँघुरो सडक, अत्यधिक सवारी चाप र तीव्र गति नै मोटरसाइकल दुर्घटनाको मुख्य कारण देखिएको छ । कान छोपिने हेल्मेट लगाउन, मदिरा सेवन गरेर सवारी नचलाउन र तीव्र रफ्तारमा नकुदाउन जिल्लाका ट्राफिक प्रहरी प्रमुख न्यौपानेले आग्रह गर्नुभएको छ ।
अभियानमा खटिएका प्रहरीले मोटरसाइकलका चालकलाई दुर्घटना हुनै नदिने उपायका लागि आवश्यक सतर्कताका बारेमा संक्षिप्त प्रशिक्षण दिने गरेका छन् ।
चालू आर्थिक वर्ष २०८०÷०८१ को नौ महिनामा झापामा सवारी दुर्घटनामा ५३ जनाको मृत्यु भएको थियो । त्यसमध्ये मोटरसाइकल दुर्घटना भएका कारण मृत्यु हुने ३९ जना रहेको न्यौपानेले जानकारी बताउनुभयो । सो अवधिमा ४ सय ६३ सवारी दुर्घटना भएकामा मोटरसाइकलको सङ्ख्या २ सय ८८ रहेको थियो । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेमा २५ वर्षमुनिका युवाको सङ्ख्या उल्लेख्य रहेको प्रहरीको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्