तपाईँ सुन्दै हुनुहुन्छः

छ दशकदेखि ज्ञान बाँड्दै लालचन्द्र

गण्डक । तपाईँलाई आज हामी कम्तीमा ६० वर्ष पुरानो किताब दोकानमा लैजाँदै छौँ । त्यो बागलुङ बजारको लालीगुराँस चोकमा विसं २०२१ मा खुलेको लालचन्द्र–राजेशचन्द्र राजभण्डारी किताब दोकान हो ।  पुस्तक, पत्रपत्रिका तथा स्टेशननरी बेचेर स्थानीयस्तरमा छ दशकदेखि ज्ञान बाँड्दै आएका लालचन्द्र राजभण्डारी दोकानको कुनापट्टि एउटा कुर्सी राखेर टुसुक्क बसिरहनुभएको छ  । त्यही बेला हामी पनि ८२ वर्षीय राजभण्डारीसँग भलाकुसारी गर्न टुप्लुक्क पुग्यौ । भण्डारीले छ दशकसम्म किताब बेचेर हासिल गरेको अनुभव जान्नु थियो हामीलाई ।  

“आरामै हुनुहुन्छ गुरु ?”  हाम्रो कुराकानी सुरु भयो नमस्कारको अभिवादनसँगै ।  

कसैका लागि शिक्षादीक्षा दिने गुरु । कोहीका लागि राजनीतिक–सामाजिक गुरु । कसैले यसै सम्मानपूर्वक पुर्काने गुरु । बस् ! लालचन्द्र गुरु । त्यसैले हामीले पनि गुरु भनेरै सम्बोधन गर्‍यौ ।  

“आरामै छु बाबु !” 

अब उहाँसँगको कुराकानी सुर भयो । कुराकानीबाट थाहा भयो, उहाँले एउटा पुस्तक व्यवसायीका रूपमा स्थानीयलाई ज्ञान बाँड्ने र तिनै पुस्तक पढेर आफूले पनि समकालीन समाज, राज्य व्यवस्था र राजनीतिलाई बुझ्नुभएको रहेछ । त्यही बुझाइले उहाँलाई बहुदलका पक्षमा प्रखर रूपमा उभिन सघाउ पुग्यो र अरूलाई पनि परिवर्तको आन्दोलनमा सघाउने चेतना फैलियो । 

६५ वर्षअघिको कुरा हो । विसं २०१६ मा उहाँले पाल्पाबाट एसएलसी दिनुभयो । हालको बागलुङ नगरपालिका–३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा १० कक्षासम्म अध्ययन गरे पनि त्यसताका एसएलसी दिन कि पाल्पा कि काठमाडौँ जानुपर्ने भएकाले उहाँले पाल्पाबाट एसएलसी दिनुभएको थियो । एसएलसी पछि काठमाडौँको त्रिचन्द्र कलेजबाट उहाँको उच्च शिक्षा अध्ययन सुर भयो । 

उहाँकी बहिनी गङ्गा र भाइ कृष्णचन्द्र घरमै बसेर पढिरहनुभएको थियो । पछि भाइ कृष्णचन्द्र चिकित्सा अध्ययनका लागि भारत पुग्नुभयो । त्यसपछि घरमा व्ययभार थपियो । उहाँका स्थानीय किनारा टोलमा कपडा दोकान सञ्चालन गरिरहनुभएका बुबा तेजबहादुरलाई छोराछोरीको पढाइ खर्च धान्न गाह्रो हुँदै गयो । यतिसम्म समस्या भयो कि विद्यालयको शुल्क तिर्न नसकेपछि छोरी गङ्गाको पढाइ बीचमै रोकिने अवस्था आयो । छोरा कृष्णचन्द्रले पनि पढाइ छोडेर घर फर्कनुपर्‍यो ।

त्यसपछि लालचन्द्रले पनि आफ्नो पढाइलाई निरन्तरता दिन सक्नु भएन । उहाँ काठमाडौँ छोडेर बागलुङ फर्कनुभयो । यहाँ आएपछि उहाँले आफैँले पढेको विद्यामन्दिर माविमा अध्यापन गर्न थाल्नुभयो । “विसं २०१८ देखि तीन वर्षसम्म शिक्षक भएर काम गरेँ । कक्षा आठ र नौमा गणित र नेपाली विषय पठाउँथेँ”, उहाँले स्मरण गर्नुभयो, “पछि प्रधानाध्यापकसँग कुरा नमिलेपछि पढाउन छाडेँ र विसं २०२१ पुसदेखि हो यो पुस्तक दोकान सुरु गरेको ।”  भाइबहिनीको पढाइलाई निरन्तरता दिन आफूले पढ्न छाडेर पढाउने पेसा र व्यवसाय रोजेको लालचन्द्रको भनाइ छ ।  

त्यो बेला बागलुङ बजार बसिसकेको थिएन । चारैतिर फाँटै फाँट थियो । फाट्टफुट्ट घर बन्न थालेका थिए । राधाकृष्ण टोलको पुरानो घरमा उहाँले पुस्तक दोकान सुरु गर्नुभयो । पहिलोपटक जनकपुरबाट पुस्तक ल्याएर दोकान खोलेको क्षण लालचन्द्रको मनस्पटलमा ताजै छ । “त्यो बेला मङ्सिरमा शैक्षिक शत्र सकिने भएकाले पुस लागेपछि पुस्तक दोकान सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “सुरुमा पाठ्यपुस्तक र परीक्षा सहयोगी पुस्तक बढी बेचिन्थ्यो, पछि धार्मिक, साहित्यिक पुस्तक र पत्रपत्रिकासमेत बेच्न थाल्यौँ ।” जनकपुरबाट भैरहवा हुँदै गाडीमा पोखरा आएका पुस्तकलाई पोखरादेखि भरिया लगाएर बागलुङ ल्याउने गरेको उहाँले सुनाउनुभयो । भरियाले दुई सय ज्याला लिएर पोखराबाट दुई दिनमा पुस्तक बागलुङ पुर्‍याउँथे । “हुलाकबाट पनि पुस्तक, पत्रपत्रिका दोकानमा आउँथ्यो । पुस्तक मगाउँदा पनि हुलाकबाटै चिठ्ठीमा लेखेर पठाउनुपर्थ्यो, फोन सुविधा थिएन”, लालचन्द्रले ती दिन सम्झनुभयो । 

उहाँले जेठो दाइ सूर्यचन्द्रसँग मिलेर पसल सुरु गर्नुभएको थियो । नाम ‘लालचन्द्र–सूर्यचन्द्र पुस्तक तथा स्टेशनरी दोकान’ थियो । विसं २०२७ मा भाइ कृष्णचन्द्रको नाम जोडेर ‘लालचन्द्र–कृष्णचन्द्र पुस्तक तथा स्टेशनरी दोकान’ को नामाकरण गर्नुभयो । फेरि विसं २०३४ पछि जेठो छोरा राजेशचन्द्रको नामसहित ‘लालचन्द्र–राजेशचन्द्र पुस्तक, पत्रपत्रिका तथा स्टेशनरी दोकान’लाई निरन्तरता दिनुभयो । जुन अहिले बागलुङको दोस्रो पुरानो पुस्तक पसलका रूपमा परिचित छ । 

विसं २०५० तिर बागलुङ गाडी आएपछि भरिया लगाएर पुस्तक ल्याउनुपर्ने बाध्यता हट्यो । पोखरा, काठमाडौँलगायतका स्थानबाट पुस्तक तथा पत्रपत्रिका सहजै आउन थाले । अरू पुस्तक तथा स्टेशनरी व्यवसायी पनि थपिँदै गए । बजार विस्तार हुँदै गयो । त्यतिबेला म्याग्दीको राखु, दरबाङ, पर्वतको फलेवास, पश्चिम बागलुङको बुर्तिबाङसम्मका मानिस त्यहाँ पुस्तक किन्न पुग्ने गर्थे ।  किताब किनेर रातारात घर फर्कनलाई गाउँलेहरू राँको लिएर आउने गरेको उहाँले स्मरण गर्नुभयो । “पर्वत, म्याग्दीमा पुस्तक पसल थिएन, सबै यही आउनुपर्थ्यो”, उहाँले भन्नुभयो, “पत्रपत्रिका किन्न र पढ्न कर्मचारीदेखि सर्वसाधारणको भीड लाग्थ्यो ।” 

उबेला मातृभूमि, समीक्षा, विमर्शलगायत पत्रपत्रिका उहाँको पसलमा नियमित आउँथे । राजदूतावास र विभिन्न प्रकाशन संस्थाका माध्यमद्वारा चीन तथा भारतबाट निस्कने अखबार र पुस्तकहरू पनि उहाँको पसलमा पुग्थे तर राज्यको नजरबाट प्रगतिशील पुस्तकहरू जोगाउन उहाँलाई हम्मेहम्मे पर्थ्यो ।  “प्रगतिशील पुस्तक, पत्रपत्रिका पनि आउने भएकाले तत्कालीन सत्ताको नजरमा हामी तारो बनेका थियौँ”, उहाँले भन्नुभयो, “बहुदल पक्षधर भएको आरोपमा स्थानीय प्रशासनले बेलाबेला दुःख दिने गर्थ्यौ तर डराउने स्वभाव थिएन मेरो । गलत कुरा गर्‍यो भने अञ्चलाधीश, सिडिओहरूको पनि आलोचना गर्थेँ ।”

उहाँले पसलमा आएका पुस्तक र पत्रपत्रिका बेच्नु मात्रै भएन आफूले पनि पढेर ज्ञान आर्जन गर्नुभयो । त्यही ज्ञानले पछि पञ्चायत विरोधी आन्दोलनमा पनि सक्रिय हुने अवस्था बनायो । आन्दोलनका क्रममा पञ्चायती व्यवस्थाको विरोधमा सार्वजनिक ठाउँमा मन्तव्य दिएका कारण त्यस बेलाका अञ्चलाधीशले जिल्लाका अड्डा प्रमुखलाई आफ्नो पसलबाट किताब, मसलन्द नकिन्नु भनेर उर्दी नै जारी गरेको उहाँको सम्झनामै छ । पञ्चायतकालमा मार्क्स, माओ र लेनिनका पुस्तक लुकाइछिपाइ बेच्ने गरेको उहाँले बताउनुभयो ।   

पारिवारिक बाध्यताले व्यवसाय सुरु गरे पनि व्यावसायिक लाभसँगै शिक्षित समुदायको सेवा, बौद्धिक सङ्गत र जनचेतना अभिवृद्धिको ध्येयले आफूले पुस्तक दोकानलाई निरन्तरता दिएको उहाँको भनाइ छ । “अहिलेजस्तो सूचना प्रविधिको विकास भएको थिएन, हप्तौँपछि बल्ल पत्रपत्रिका बागलुङ आइपुग्थे”, लालचन्द्रले भन्नुभयो, “पत्रपत्रिका नपढेसम्म देश विदेशमा के भइरहेको छ भन्ने थाहा हुँदैनथ्यो । त्यसैले लाभका लागि मात्र नभई स्थानीय स्तर सूचना र ज्ञान बाँड्न योगदान गर्ने उद्देश्यले पनि पसललाई निरन्तरता दिनुपर्‍यो ।” पुस्तक व्यवसायी लालचन्द्र विसं २०३६ मा बागलुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षसमेत बन्नुभएको थियो । 

वैचारिक रूपमा प्रष्ट र निडर स्वभावका उहाँ बहुदल पक्षधर भएकै कारण विसं २०२७ र २०३७ मा दुई पटक जेलसमेत पर्नुभएको थियो । वाम विचारधारा बोक्नुहुने उहाँ विसं २०४९ को स्थानीय चुनावमा तत्कालीन कालिका गाउँ सिवकास समितिको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले विसं १९९७ मा स्थापित विद्यामन्दिर मावि र विसं २००३ मा स्थापित विद्यामन्दिर पुस्तकालयलगायत शैक्षिक संस्थाको नेतृत्वसमेत गरिसक्नुभएको छ । उहाँ पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घलगायत कैयन सङ्घसंस्थाबाट सम्मानितसमेत भइसक्नुभएको छ । 

८२ वर्षको उमेरसम्म पनि आफ्नो पुस्तक व्यवसाय र सामाजिक जीवनमा पनि सक्रिय हुनुहुन्छ । व्यवसायमा जीवन सङ्गिनी शोभा, छोराहरू राजेशचन्द्र, मुकेशचन्द्रलगायतको दरिलो साथ छ । “सानैदेखि पुस्तकसँग खेलिरहेको भएर होला अध्ययनमा पनि मेरो गहिरो रुचि छ, अहिले पनि नियमित पुस्तक पढिरहेको हुन्छु”, लालचन्द्रले भन्नुभयो, “मपछि पनि छोरा नातिको पुस्ताले यो व्यवसायलाई निरन्तरता दिउन् भन्ने चाहना छ ।”

सबैभन्दा रोचक त उहाँको पसलमा ५३ वर्षअघिको कुर्सी छ । त्यही कुर्सीमा बसेर उहाँले अहिले पनि व्यवसाय गरिरहनुभएको छ । समय, उमेर सबै फेरियो तर त्यही कुसी किन नफेर्नुभएको ? हाम्रो प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ, “नयाँ कुर्सी किन्न नसकेर होइन नि यो त माया लागेर नफेरेको ।” 

उहाँ पछिल्लो समय देशमा कुर्सीकै लागि राजनीतिक दलहरूबीच भइरहेको खिचातानीलाई आफ्नो कुर्सीले व्यङ्ग्य गरिरहेको सुनाउनुहुन्छ । “मैले पुस्तक व्यवसायका साथै राजनीति पनि गरे । तत्कालीन अवस्थामा गाविसको उपाध्यक्षसमेत बने तर कहिले लोभ जागेन । अरूलाई प्रेरणा दिने भूमिकामा रहेका राजनीतिकर्मीले अरूले सक्ने व्यवहार पनि गर्नुपर्छ”, उहाँले भन्नुभयो,“तर अहिले त परिवर्तनका लागि लड्ने नेताहरू नै कुर्सीकै लागि झगडा गरिरहेका छन् । त्यो देख्दा खिन्न लाग्छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button