पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यता अन्त्य गर्छौं : मन्त्री राई
ओखलढुङ्गा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या दीर्घकालीन रुपमा अन्त्य गरिने बताउनुभएको छ ।
ओखलढुङ्गामा सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गर्नुहुँदै मन्त्री राईले पिउने पानीको अभाव सधैँका लागि अन्त्य हुने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।
मन्त्री राईले देशका कतिपय ठाउँमा अझै खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नेपालीमाझ स्वच्छ खानेपानी पुर्याउन योजनाबद्ध ढङ्गले काम गरिरहेको जानकारी दिनुभयो । पिठ्युँमा पानी बोक्नुपर्ने दिनको अन्त्य गर्ने गरी आफू मन्त्रीमा नियुक्त भएदेखि काम गरिरहेको उहाँको भनाइ छ ।
“पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यताको चाँडै अन्त्य हुन्छ । घरघरमा धारा लगेर सबै नेपालीलाई स्वच्छ पानी खुवाउन सरकारले काम गरिरहेको छ”, मन्त्री राईले भन्नुभयो, “खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था हुन्छ । स्रोतको सदुपयोगमा उपभोक्ता समिति, आम नागरिक र सबै सरोकारवाला सचेत हुनुपर्छ ।” आफूले उपभोग गर्ने खानेपानी आयोजनाको संरक्षण र सरसफाइमा सरकारको मुख नताकी उपभोक्ता आफैँले काम गर्नुपर्ने मन्त्री राईको भनाइ थियो ।
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति एवं सांसद रामहरि खतिवडाले ओखलढुङ्गाको सुक्खाग्रस्त क्षेत्रमा खानेपानीको समस्या रहेकाले बजेट व्यवस्था गरिदिन मन्त्री राईलाई आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वसांसद यज्ञराज सुनुवारले ओखलढुङ्गामा सङ्घीय खानेपानी आयोजनाको कार्यालय नहुँदा खानेपानीका ठूला आयोजना सञ्चालन नभएको बताउनुभयो । उहाँले सङ्घीय खानेपानी कार्यालय स्थापना गर्न मन्त्री राईलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य मानवीर राई, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, स्थानीय उपभोक्ता लगायत सहभागी हुनुहुन्थ्यो ।
ओखलढुङ्गामा सह–लगानी अन्तर्गत सङ्घीय सरकारको रु आठ करोड ६४ लाख ८० हजार सात सय ६५, उपभोक्ताको नगद लगानी रु एक करोड २३ लाख ५४ हजार तीन सय ९५ र उपभोक्ताको रु दुई करोड ४७ लाख आठ हजार सात सय ९० बराबरको श्रमदान गरी कूल रु १२ करोड, ३५ लाख ४३ हजार नौ सय ५० लाख लागतको योजना सञ्चालन गरिएको थियो ।
योजना लागत अनुमानभन्दा कम खर्चमै सम्पन्न भएको छ । सगरमाथा घिमिरे निर्माण सेवाले सात करोड ७८ लाख २५ हजार एक सय ६८ रुपैयाँ ४७ पैसामा ठेक्का लिएको थियो । विसं २०७५ असार २५ देखि सुरु भएको योजनाको काम २०८० असारमा सम्पन्न भएको थियो ।
सह-लगानी खानेपानी योजना सञ्चालन भएपछि ओखलढुङ्गा सदरमुकाम क्षेत्रमा खानेपानी समस्या समाधान भएको योजनाका सचिव रुपेश शाक्यले बताउनुभयो । विगतमा सदरमुकाममा खानेपानीको समस्या थियो ।







प्रतिक्रिया राख्नुहोस्