नौ महिनामा ७० करोड बढीको जडीबुटी नेपालगन्ज नाकाबाट निकासी
बाँके । बाँकेको नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड रुपैयाँभन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ ।
विभिन्न समस्या र अवरोधका बाबजुद चालु आवको साउनदेखि चैतसम्मको अवधिमा ७० करोड रुपैयाँको जडीबुटी निकासी भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ ।
जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माका अनुसार निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको कठिनाइका बाबजुद नौ महिनामा ७० करोड रुपैयाँको जडीबुटी निकासी भएको बताउनुभयो ।
नेपाली जडीबुटीप्रति भारतको झन्झटिलो प्रक्रिया र नेपाल सरकारको अस्पष्ट नीतिका कारण जडीबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षदेखि पुनः उकालो लाग्ने सङ्केत देखिन थालेको अध्यक्ष शर्माले बताउनुभयो ।
नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८०/८१ को चैत मसान्तसम्म नेपालगन्ज नाकाबाट ७० करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको २८ लाख पाँच हजार आठ सय ३९ किलोग्राम विभिन्न जडीबुटी निकासी भएको हो ।
गत आव २०७९/८० को चैत मसान्तसम्म यो नाकाबाट ७० करोड ९६ लाख १० हजार रुपैयाँको जडीबुटी निकासी भएको थियो ।
कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडीबुटीको भण्डारण र विदेश निर्यातका लागि नेपालगन्जलाई प्रमुख ट्रान्जिट मानिन्छ । नेपालगञ्ज हुँदै भारतलगायत विभिन्न देशमा जडीबुटी निकासी हुँदै आएको छ । यो नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निकासी भइरहेको छ ।
औषधि, साबुन, स्याम्पु जस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेस्रो मुलुकमा पनि निर्यात भइरहेको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्