तपाईँ सुन्दै हुनुहुन्छः

आँखा शिविरमा सात सयको उपचार, ४२ जनाको शल्यक्रिया

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सयको उपचार भएको छ भने ४२ जनाको शल्यक्रिया गरिएको छ ।

साल्पासिलिछो गाउँपालिकामा रहेको जाल्पा माध्यमिक विद्यालयमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा आँखा परीक्षण र शल्यक्रिया सेवा सञ्चालन गरिएको नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले जानकारी दिनुभयो ।

विशेषज्ञहरूबाट सञ्चालन भएको शिविरमा सात सय जनाले उपचार सेवा पाएको र ४२ जनाको शल्यक्रिया गरिएको प्रमुख तामाङले बताउनुभयो । शिविरमा आँखा परीक्षण तथा उपचारका साथै मोतीबिन्दु र आँखामा मासु पलाएका बिरामीहरूको शल्यक्रिया गरिएको थियो ।

नेपाल नेत्र ज्योति संघ विराटनगर आँखा अस्पताल र आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा साल्पासिलिछो गाउँपालिकाको सहयोग तथा व्यवस्थापनमा शिविर आयोजना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button