तपाईँ सुन्दै हुनुहुन्छः

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौँ। आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ।

यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रूपान्तरण गर्ने योजनामा सरकार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभएको छ । उहाँले सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिन्छ भन्नेमा विश्वासका साथ सरकार यस क्षेत्रको विकासका लागि दृढता साथ अघि बढेको बताउनुभयो ।

“यसअघि कृषि, पर्यटन र ऊर्जालाई समृद्धिका आधार भन्थ्यौँ, पछिल्लो समय सूचना प्रविधि पनि थपिएको छ, युवा वर्गमा पनि सञ्चार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिन्छ भन्ने विश्वास र देशका लागि केही गर्नुपर्छ भन्ने उत्साह छ”, मन्त्री शर्माले भन्नुभयो, “यसलाई सहजीकण गर्ने उद्देश्यका साथ सरकार क्रियाशील छ । ”

सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यूले जारी गर्नुभएको शुभकामना सन्देश

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढेको बताउनुभएको छ । आज सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देश मार्फत यस्तो बताउनुभएको हो ।

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नाराका साथ मनाउन थालिएको यस दिवसको अवसरमा उहाँले सञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्नुहुने सबैमा धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।

सूचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको उहाँले बताउनुभएको छ । सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले राज्यले नागरिकलाई उपलब्ध गराउने सेवा सूचना प्रविधिमैत्री हुँदै गइरहेका जनाउनुभएको छ ।

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस अवसरमा सञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको छ । राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन्। आजको दिनमा विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको छ। दैनिक जीवनमा प्रयोग हुने आधारभूत सेवादेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कार्यहरुमा विद्युतीय प्रणालीको उपयोग बढेको छ। डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीब्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारको रुपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको छ।

सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढेको छ। साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको छ भने राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ। सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको छ भने दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ । सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्याण्ड नीति, २०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमा गर्ने कार्य भइरहेको छ।

सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ विश्वास राख्दछ। तीब्र विकास र उच्च आर्थिक वृद्धिका लागि धेरै भन्दा धेरै सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ सुरु गरिएको डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई आवश्यक परिमार्जन गरेर हरेक क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रुपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्ने सरकारको स्पष्ट लक्ष्य रहेको छ।

अन्त्यमा, सुरक्षित सूचना प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि स्थापित गर्ने कार्यमा ठोस योगदान गर्न सबैमा हार्दिक अपिल गर्दछु।

रेखा शर्मा

(मन्त्री)
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button