पोखरामा तुवाँलोले जनजीवन प्रभावित
कास्की । पोखरामा वायु प्रदूषण अत्यधिक भएपछि यति बेला पोखराको आकाश धुम्मिएको छ भने यहाँको तापक्रम समेत बढेको छ ।
पोखरा महानगरपालिका– १७ मा रहेको हिमालय आँखा अस्पतालमा आँखाको समस्या लिएर पुग्नेहरू पनि थपिएका छन् । नेत्र चिकित्सक ईन्द्रमान महर्जनले एक हप्तादेखि आँखाको एलर्जी र आँखा पोल्ने समस्याका बिरामी बढेको बताउनुभयो ।
“गत हप्तादेखि आँखा पोल्यो भनेर आउनेको सङ्ख्या बढेको छ”, महर्जनले भन्नुभयो”, “यहाँ दिनमा सरदर सय जना यस्ता बिरामी आउने गरेका छन् ।”
तुवाँलोका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने यात्रुले समेत सास्ती पाएका छन् । केही दिनदेखि पोखराको आकाशमा नियमित उडान हुन सकेको छैन । दैनिक ३३ वटा उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धले २०, यतिले १० र श्री एयरलाइन्सले ३ वटा उडान गर्दै आएका छन् । तर, एक हप्तादेखि नियमित उडान हुन सकेको छैन।
अन्तर्राष्ट्रिय विमानस्थलको हेल्पडेस्कले यहाँ एक हजार मिटरमात्र भिजिबिलिटी रहेको जनाएको छ । हावामा प्रदूषणको मात्रा बढ्दा कुहिरो लाग्ने, हावाको चाप बढ्दा भिजिबिलिटी कम हुने समस्या देखिएको छ । एक हप्तादेखि समयमा उडान नहुँदा बिहान विमानस्थल पुगेका यात्रु दिनभरि पर्खेर फर्किन बाध्य छन् ।
अन्तर्राष्ट्रिय वायु जाँच संस्था ‘आइक्यु एयर’को तथ्याङ्कले पनि पोखरामा प्रदूषणको दर उच्च देखाएको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स एक्वुआई मा मापन गरिन्छ । वायु गुणस्तर सूचकाङ्क जति कम भयो, उति राम्रो हो ।
पोखरामा वैशाख एक्युआई पुन बढ्यो १ सय ८५ एक्वुआई भयो । पोखरामा प्रदूषण ह्वात्तै बढेर २ सय १४ एक्वुआईसम्म पुगेको छ । आइक्यु एयरले स्याटलाइटको माध्यमबाट संसारभरिका सहरहरूको हावाको गुणस्तर मापन गरेको पोखराको यो तथ्याङ्कले अवस्था अस्वस्थकर रहेको पुष्टि गर्छ ।
एक्वुआई ५० सम्म हुनु राम्रो हो । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ भने २०० सम्म पुगे अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु जोखिमपूर्ण हो भने त्यसभन्दा माथि जानुचाहिँ घातक ठानिन्छ ।
गण्डकी प्रदेशमा ४६७ ठाउँमा डढेलो लाग्दा वायु प्रदूषण ह्वातै बढेको छ । जसका कारण घर बाहिर निस्कँदा आँखा पोल्ने शरीर चिलाउने जस्ता समस्या आएको पोखरा महानगरपालिका–२ मिरुवाका कर्ण बहादुर बस्नेतले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्