यान्त्रीकरणमा सन्धिखर्कका किसानको आकर्षण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषकको सहजताका लागी कृषि औजार वितरण गरेको छ ।
काम गर्ने दक्ष जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाझिँदै जान थालेपछि नगरपालिकाले कृषिमा यन्त्र करण गर्न थालेको हो ।

सन्धिखर्क नगरपालिकाको नीति तथा कार्यक्रममा स्वीकृत योजना अन्तर्गत किसानलाई हाते ट्याक्टर (मिनिटेलर), कुटानी–पिसानी (कम्बाइन मिल) र मकै छोडाउने मेसिन (कर्न सेलर) प्रदान गरिएको हो ।
नगरपालिकाले ६० प्रतिशत अनुदानमा १२ वटै वडामा ५ सय जना किसानलाई सेवा दिने गरी सहकारी, समूह र कृषि फार्मलाई ३० वटा कुटानी पिसानी मेशिन, १४ वटा हाते ट्याक्टर र ६ वटा मकै छोडाउने मेशिन हस्तान्तरण गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन बजेटबाट १५ लाख ३४ हजार बराबरको कृषि औजार किसानलाई अनुदानमा प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो । “किसानले प्रविधि भित्र्याउँदा कम जनशक्ति र कम खर्च हुन्छ, लागत घटेपछि किसानलाई नाफा हुन्छ, कृषिमा लगाव बढ्छ” प्रमुख प्रशासकीय अधिकृत भुसालले भन्नुभयो “युवा पलायनले गाउँमा काम गर्ने मानिस नहुँदा कृषि उत्पादन र बजारीकरणमा समस्या छ, त्यसैलाई मध्यनजर गरेर हामीले कृषि औजार अनुदानमा दिएका छौँ ।” अनुदानमा कृषि औजार पाउँदा आफूहरू निकै खुसी भएको सन्धिखर्क नगरपालिकाका अगुवा कृषक शोभा खर अधिकारीले बताउनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्