राष्ट्रिय सभा अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाको संसदीय टोलीले गर्यो शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।
सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा आज (मङ्गलवार) गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया(नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ-हेओन ली (Sang-heon Lee) नेतृत्वको भ्रमण टोलीले शिष्टाचार भेट गरेको हो।
भेटमा नेपाल(कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान र आपसी सहयोगका विषयमा छलफल भएको थियो।
सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नेपाल(कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझैँ उँचाइमा पु(याउन आगामी दिनमा संसदीय अनुभव आदान प्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानु पर्नेमा जोड दिनुभयो।
नेपालको संघीय संसदले नेपाल(कोरिया संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै अध्यक्ष दाहालले दुई देशको संसदीय अभ्यास र अनुभव आदान प्रदान गर्न र असल अभ्यासहरू अनुसरण गर्न दुवै देशका संसद्को आपसी सहकार्य र सहयोग हुनुपर्नेमा जोड दिनुभयो। संसदीय प्रतिनिधि मण्डलको भ्रमणले दुई देशका संसद्को सहकार्यमा थप बल पुगेको भन्दै उहाँले अझैँ जनता(जनताबीचको सम्बन्धलाई सुदृढ गर्नुपर्ने बताउनु भयो।
“संसद् जनताको सरोकारसँग जोडिने संस्था भएकोले संसदहरुको सम्बन्ध सुदृढ गर्न जनताबीचको सम्बन्ध सुदृढ गर्न जरुरी छ,” अध्यक्ष दाहालले भन्नुभयो, “तपाईँहरूको नेपाल भ्रमणले हाम्रो सम्बन्ध थप घनिष्ट र सुदृढ भएको मैले महसुस गरेको छु।”
कोइकामार्फत् कोरियन सरकारले नेपालको जलविद्युत, कृषि, अटोमोबाइल्स लगायतका विभिन्न क्षेत्रमा लगानी गरेको चर्चा गर्दै अध्यक्ष दाहालले कृषि उत्पादनलाई वृद्धि गर्न रासायनिक मल उद्योगको स्थापना, प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न सकिने क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभयो।
नेपाल बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथादेखि थुप्रै प्राकृतिक, साँस्कृतिक र पर्यटन सम्पदाले धनी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले दुई देशको सम्बन्ध झन नजिकबाट विस्तार गर्न र पर्यटन प्रवद्र्धनमा टेवा पु(याउन सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। त्यसका लागि कोरियाली नागरिकलाई नेपाल पठाउन आग्रह गर्दै उहाँले नेपाली ध्वजावाहक जहाज काठमाडौँ-सिओ ल सिधा उडानको व्यवस्थाका लागि पहल गर्न पनि आग्रह गर्नुभयो।
नेपालमा तेस्रो लगानी सम्मेलन हुन लागेको भन्दै अध्यक्ष दाहालले गणतन्त्र कोरिया सरकार र निजी क्षेत्रबाट समेत नेपालमा लगानी गर्न पनि उक्त प्रतिनिधि मण्डलमार्फत आग्रह गर्नुभयो।
नेपाल लामो राजनीतिक सङ्घर्ष र द्वन्द्वबाट गुज्रिँदै अहिले शान्ति प्रक्रियाको अन्तिम चरणमा पुगिसकेको भन्दै उहाँले अब नेपालको उद्देश्य आर्थिक समृद्धि र विकास रहेको बताउनु भयो। उहाँले त्यसका लागि गणतन्त्र कोरिया सरकारको सहयोग नेपालीहरूका लागि निकै महत्वपूर्ण हुने बताउनु भयो।
भेटका क्रममा कोरिया(नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लीले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउन यो भेटघाटले मद्दत गरेको बताउनु भयो। उहाँले नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार सदैव तत्पर रहेको चर्चा गर्दै वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र छिटो छरितो काम गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपालमा आफू यसअघि पनि धेरै पटक आइसकेको चर्चा गर्दै हरेक पटक आउँदा केही न केही नयाँ विकास भएको पाएको उहाँले बताउनु भयो।








प्रतिक्रिया राख्नुहोस्