सार्वजनिक प्रसारण विधेयक छिट्टै पारित हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक सेवा प्रसारण विधेयकसहित आमसञ्चारसँग सम्बन्धित विधेयकहरू संसदबाट छिट्टै पारित हुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको १२ औँ अधिवेशन समारोहमा मन्त्री शर्माले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित बनाउन आमसञ्चार क्षेत्रसँग सम्बन्धित कानून समयानुकूल बनाउन लागिएको बताउनुभयो ।
सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चार माध्यमलाई सहुलियत दिन सरकार सकारात्मक रहेको पनि बताउनुभयो ।
अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको स्पष्ट पार्नुहुँदै मन्त्री शर्माले न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउने विषयमा पनि सरकार छलफलमा रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारलाई सुझाव दिनुभयो ।

यस अवसरमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै विभिन्न पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ । साथै महासङ्घले शाखाका पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ ।
यसै अवसरमा रेडियो नेपालमा कार्यरत संवाददाता यशोदा अधिकारीलाई शोभा शाह स्मृति पुरस्कारबाट सम्मानित गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्