तपाईँ सुन्दै हुनुहुन्छः

मधेशमा स्वच्छ खानेपानी आपूर्ति गर्न सरकार तयार : मन्त्री राई

जनकपुरधाम । खानेपानीमन्त्री राजेन्द्र कुमार राईले मधेश प्रदेशका जिल्लाहरूमा विगत केही समय यता बढेको खानेपानी समस्याको समाधान गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्री राईले संघीय खानेपानी तथा ढल निकासी विभागद्वारा आज धनुषाको लालगढमा आयोजित मधेश प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी वितरणसम्बन्धी परामर्श गोष्ठीमा सरकारले मधेशका जनतामा स्वच्छ खानेपानीका आपूर्तिका लागि विभिन्न योजनाहरूलाई प्राथमिकताका साथ सञ्चालन गर्न लागेको बताउनुभयो ।

उहाँले मधेश प्रदेशका जिल्लाहरूमा सिँचाइका लागि आउन लागेको सुनकोशी मरिन सिँचाइको केही पानी मधेशका जनतालाई स्वच्छ खाने पानी आपूर्तिका लागि प्रशोधन गर्ने नीति बनाउन लागेको जानकारी दिनुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री यादवले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरि मधेशका ६ वटा जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकोमा संघीय सरकारलाई धन्यवाद दिँदै यसमा मधेश सरकार हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्री सिंघासन सा कलवारले खानेपानी समस्याको समाधानका लागि संघ सरकारको चासोप्रति धन्यवाद दिनुभयो ।

सो अवसरमा प्रतिनिधि सभा महिला, बालबालिका तथा सामाजिक समितिका सभापति किरण साह, पूर्व खानेपानी मन्त्री महेन्द्र राय यादव लगायतका वक्ताहरूले मधेशमा खानेपानी आपूर्तिको अवस्था र आगामी रणनीतिबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

गोष्ठीमा खानेपानी तथा ढल निकास विभागका निर्देशक कमलराज श्रेष्ठले थोक खानेपानी आपूर्ति प्रणाली सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही भागलाई प्रशोधन गरेर मधेश प्रदेशको धनुषादेखि पर्सासम्म खानेपानी सप्लाई गरी दीर्घकालीन समस्याको समाधान गर्न सकिने बताउनुभयो ।

सो परियोजनाका लागि ४६ अर्ब २० करोड १० लाख १५ हजार ४ सय ८८ रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button