तपाईँ सुन्दै हुनुहुन्छः

लगानीका लागि बाधक ठानिएका ऐनमा सुधार हुन्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताउनुभएको छ ।

नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मङ्गलवार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवर्द्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानून बनाउने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। लगानी सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको उनको भनाइ थियो ।

लगानी वातावरण बनाउन संघीय संसद्का दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक पारित गरेको र बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसदमा प्रस्तुत गरिसकेको जानकारी उहाँले दिनुभयो ।

मन्त्री पुनले सन् २०२६ भित्र नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट मध्यम आययुक्त विकासशील मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै विकास साझेदार संस्थासँग सहुलियतपूर्ण कर्जा लिने नीतिमा रहेको बताउनुभयो । मन्त्री पुनले कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको प्रभावका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको उल्लेख गर्नुभयो ।

विगतमा जस्तो ट्रेड युनियन समस्या नरहेको, राजनीतिक कारणले हुने बन्द, हडतालको स्थिति अन्त्य भएको तथा नेपालका दुवै छिमेकी मुलुकले गरिरहेको तीव्र आर्थिक वृद्धिको सकारात्मक प्रभावका कारण नेपाल वैदेशिक लगानीका लागि उपयुक्त गन्तव्य भएको दाबी मन्त्री पुनको थियो ।

पुँजीगत खर्चको स्थिति सन्तोषजनक नरहेको बताउँदै मन्त्री पुनले सरकारी निकायहरूको खर्च गर्ने क्षमता वृद्धि गरिने उल्लेख गर्नुभयो ।

भेटमा आइएमएफकी आवासीय प्रतिनिधि सान्चेजले नेपालको पछिल्लो आर्थिक सूचक राम्रो रहेको बताउनुभयो । नेपालको आर्थिक प्रणाली स्थिर रहेकामा पनि उहाँले प्रशंसा गर्नुभयो । यस्तै उहाँले आगामी १६ र १७ वैशाखमा काठमाडौँमा हुने लगानी सम्मेलनमा आइएमएफका तर्फबाट उच्चस्तरको प्रतिनिधित्व हुने जानकारी मन्त्री पुनलाई गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button