गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा दर्ता
सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवसहित चार जनाविरुद्ध जनकपुर उच्च अदालत राजविराज इजलासको परमादेशपछि चोरी–डकैतीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ।
गाउँपालिका अध्यक्ष दिनेश यादवसहित राम यादव, सरोज यादव र पीताम्बर यादव विरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको हो । पालिका अध्यक्षसहित ४ जनाले हातपात गर्दै २५ हजार रुपैयाँ पर्ने मोबाइल लुटेको भन्दै स्थानीय किरणकुमार जयसवालले गत २६ असारमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि रुपनी गाउँपालिका–१ का जयसवाल उच्च अदालत गएका थिए।
लुटिएको उक्त मोबाइलमा गाउँपालिका अध्यक्ष यादवको भ्रष्टाचारको प्रमाण रहेको जयसवालको दाबी छ। यादवसहित चार जनाले हातपात गर्दै कमिसन लिएको प्रमाण रहेको मोबाइल लुटेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन माग गरी उनले गत साउनमा मुद्दा दायर गरेका थिए।
गाउँपालिका अध्यक्ष यादवले मच्चाएको लुटको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको निहुँमा पटक पटक गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिँदै आएको, २३ असार रातिको समयमा गाउँपालिकाको स्कार्पिओ दुर्घटनामा पर्दा सामाजिक सञ्जालमा लेखेकै निहुँ बनाएर २४ गते हातपात गर्दै कमिसनको प्रमाण रहेको २५ हजार रुपैयाँ पर्ने मोबाइल चोरी डकैती गरेको अदालतमा दायर मुद्दामा उल्लेख छ।
यस मुद्दामा गत मङ्सिर २२ मा गौतम उप्रेतीको संयुक्त इजलासले मुद्दा दर्ता गर्न परमादेश दिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्