लोकतन्त्रवादी र समाजवादीको स्वर्ग भविष्यमा हुन्छ : राष्ट्रपति
चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिगामीहरूको स्वर्ग अतीतमा हुने तथा लोकतन्त्रवादी र समाजवादीहरूको स्वर्ग भविष्यतिर हुने बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले तनहुँको देवघाट गाउँपालिकाको पवित्र धार्मिक स्थल देवघाटमा निर्माण गरिने ज्येष्ठ नागरिक भवनको शनिबार शिलान्यास गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । “अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरूको स्वर्ग अतीतमा हुन्छ, तर हामी लोकतन्त्रवादी र समाजवादीहरूको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौ”, उहाँले भन्नुभयो ।
उहाँले विदेश पलायन भएर यहाँ केही नभएको भनेर कुरा काट्नु पनि अनुचित भएको बताउँदै भन्नुभयो, “हाम्रो देश पृथ्वीमै स्वर्ग छ, यसैलाई यहीँ बसेर देश बनाउनुपर्छ, अब विदेश पलायन रोकिनुपर्छ ।”

उहाँले गठबन्धन जो जता भए पनि विकासमा हामी एक हुनुपर्छ भनेर राजनीतिक दलका नेताहरूलाई आफूले भन्ने गरेको स्मरण गर्नुभयो ।
तनहुँको गाइघाट क्षेत्रको विगतको अवस्थाबारे चित्रण गर्दै उहाँले पञ्चायतका कठिन दिनहरूमा आफूहरू त्यहाँ सङ्गठन गर्न जाँदा गरिबी र अभावले खान समेत नपाइने गरेको स्मरण गर्दै लोकतन्त्रपछि त्यस क्षेत्रले काँचुली फेरेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको संगम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गर्नुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भवन निर्माण गर्न लागेको हो । त्यसको लागत करिब १५ करोड रुपैयाँ रहेको बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्