तपाईँ सुन्दै हुनुहुन्छः

बाँदर नियन्त्रणका लागि कानुन बनाइदिन स्थानीयको आग्रह

पर्वत । मतदातासँग जनसंवाद कार्यक्रम सञ्चालनका लागि पर्वतको महाशिला पुगेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीलाई स्थानीयवासीले बाँदर नियन्त्रण गर्ने कानुन बनाइदिन आग्रह गरेका छन् ।


बाँदर आतङ्कका कारण गाउँ बस्ती विस्थापित भएको भन्दै स्थानीयवासीहरुले बाँदर नियन्त्रणका लागि आग्रह गरेका हुन् । ‘‘कि बस्ती स्थानान्तरण गर्नुपर्‍यो कि त जनतालाई बस्ने वातावरण बनाई दिनपर्‍यो’’ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले भन्नुभयो–‘‘पहिला बाँदर लखेट्ने जनतालाई अहिले बाँदरले लखेट्न थाल्यो । हामी गाउँमा बसिसक्ने अवस्था भएन । उहाँले भन्नुभयो–‘‘वन्यजन्तु र बाँदरको आतङ्कले गाउँ खाली भइसके अब पनि नियन्त्रण नगर्ने हो भने गाउँ बस्ती स्थानान्तरण गर्नुको विकल्प हुँदैन ।’’

बालीनाली सबै खाइदिने भएकाले अहिले गाउँमा खेती किसानी गर्नेको सङ्ख्या हराउँदै गएको स्थानीय एकबहादुर हमाल बताउँछन् । कानुन संशोधन गरेर भए पनि बाँदर नियन्त्रण नगर्ने हो भने किसान सबै विस्थापित हुने स्थानीयवासीको भनाई छ । कानुनी अड्चनका कारण बाँदर नियन्त्रणको ठोस योजनाहरू स्थानीय तहले निर्माण गर्न सकिरहेका छैनन् ।
केही वर्ष पहिले महाशिला गाउँपालिकाले बाँदर नियन्त्रण भन्दै बाँदर समात्ने काम गरेको थियो । २५ लाख रकम विनियोजन गरेर बाँदर नियन्त्रणको कार्य योजना बनाएको महाशिला उक्त काममा सफल हुन सकेन । अहिले पैयुँ गाउँपालिकाले बाँदर धपाउने कर्मचारी नै नियुक्ति गर्ने गाउँ सभाबाट निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button