सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छ: गृहमन्त्री लामिछाने (भिडियो सहित)

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देश भरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताउनुभएको छ । आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सहकारी पीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारी वार्ता टोली र सहकारी पीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।” देशभरिका सहकारी पीडितको समस्या समाधान गरिने उहाँको भनाइ थियो । सहकारीको पैसा अपचलन गर्नेहरूको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उहाँले बताउनुभयो ।
गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरूको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताउनुभयो ।
सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उहाँले बताउनुभयो । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिले नै सार्वजनिक गर्न नहुने भन्दै उहाँले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले गरेका कामको नतिजा पूर्ण रुपमा आउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “काहीँ कतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो । निर्दोष नफसोस् दोषी नउम्यिोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यहीअनुसार काम हुन्छ ।” प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उहाँले बताउनुभयो ।
फरक प्रसङ्गमा बोल्दै उहाँले चेपाङ समुदायका लागि राज्यको उपस्थिति हुने गरी सरकारले काम गर्ने बताउनुभयो । विज्ञहरू र सरोकारवाला प्रतिनिधिसँगको छलफलबाट यस वर्ष बजेटमै राखेर काम गर्न लागिएको उहाँले बताउनुभयो । जनताको दुःखमा राज्य पुग्नुपर्ने उहाँको भनाइ थियो ।
भिडियो







प्रतिक्रिया राख्नुहोस्