मधेशमा होली

जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध मिथिला नाट्य कला परिषद्को दुई दिवसीय होरी महोत्सव आज देखि शुरु हुने भएको छ । होरी महोत्सव अन्तर्गत पहिलो आज जोगिरा गायन प्रतियोगिताको आयोजना हुन लागेको छ भने दोस्रो दिन भोली महामूर्ख सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ ।
होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुन नदिन र त्यसको संरक्षण गर्नका लागि मिनापले प्रत्येक वर्ष होरी महोत्सव र महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।
मिथिलाञ्चलमा जोगिरा (फागु गीत) सुनिन लगभग छोडिएको बेला मिथिला नाट्य कला परिषद्ले पुरानो संस्कृतिलाई बचाउन प्रत्येक वर्ष होरी महोत्सव र महामूर्ख सम्मलेनको आयोजना गर्न लागेको मिथिला नाट्य कला परिषद्का पूर्व अध्यक्ष एवं प्रसिद्ध गायक सुनिल मल्लिकले जानकारी दिनु भएको छ ।

जोगिरा गायन प्रतियोगितामा भाग लिनका लागि गाउँ गाउँको जोगिरा टोलीलाई बोलाएर प्रतियोगितामा सहभागी गराइने र उत्कृष्ट ३ टोलीलाई पुरस्कृत पनि गर्दै आएको छ । जोगिरा गायन प्रतियोगितामा यस वर्ष मधेसको ८ वटै जिल्लाको गरी कुल १० वटा टोलीको सहभागिता रहने मिथिला नाट्य कला परिषद्का अध्यक्ष एवं कलाकार अध्यक्ष प्रमेश झाले जानकारी दिनु भएको छ ।
त्यस्तै महोत्सवको दोस्रो दिन भोली महामूर्ख सम्मेलन अन्तर्गत मिनापको हास्य शैलीमा व्यङ्ग पूर्ण नाटक प्रस्तुती, हास्य कवि गोष्ठी,महामूर्ख, पटमूर्ख, मुर्खाधिराज जूता उपाधिवाट यस क्षेत्रका ख्याति प्राप्त व्यक्तिलाई दिएर विभूषित गरिन लागेको छ ।

होलीको पूर्व सन्ध्यामा प्रदान गरिने महामूर्खको उपाधि पाउनका लागि विशिष्ट व्यक्तिहरुका बीचमा तछाड मछाड हुने गरेको छ । उपाधि पाउनेले निक्कै गौरवको अनुभूतिगर्ने गरेका छन् । यस वर्षको उपाधिका लागि व्यक्तिको छनौट मिनापले गरेपनि त्यसको घोषणा मञ्चवाट नै गर्ने भएको छ ।
जोगिरा गायन प्रतियोगिता सहितका सम्पूर्ण कार्यक्रमहरु जनकपुरधामको राममंन्दिरको राम वागमा गरिने पनि आयोजकले जानकारी दिएका छन् । विगतका वर्षमा यो कार्यक्रमहरु जानकी मंन्दिरमा गर्ने गरेकोमा सो ठाउँमा धार्मिक बाहेकका कार्यक्रममा निषेध गरेपछि राममंन्दिरको रामवागमा गरिन लागेको छ ।







प्रतिक्रिया राख्नुहोस्