मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू धनुषाधाममा, भोली सतोषर

जनकपुरधाम । मिथिला सहित देशकै सबैभन्दा ठूलो तथा लामो धार्मिक महत्वको मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू धनुषा जिल्लाको धार्मिक महत्वको स्थलका रुपमा रहेको धनुषाधाम आज आइपुगेको छ ।
मिथिला विहारी अर्थात् भगवान् राम तथा किशोरी जी अर्थात् माता सीताको डोला सँगै हजारौँको सङ्ख्यामा रहेका तीर्थयात्रीहरू धनुषाको पर्वतावाट आज बिहान बाँजा गाँजा तथा धार्मिक झाकी सहित धनुषाधाम आइपुगेका छन् ।
धनुषाधाम आइपुगेका परिक्रमाका तीर्थयात्रीहरूलाई धनुषाधाम नगरपालिकाले स्वागत गरेको छ । तीर्थयात्रीहरूले धनुषाधाममा रहेको भगवान् शिवको पिनाक धनुषको टुकडा खसेको धनुषा मन्दिरमा पूजा अर्चना गर्नुका साथै धनुषसंगै रहेको पाताल गङ्गाको दर्शन गर्ने चलन रहेको छ । धनुषाधाममा प्राचीन रामजानकीको मन्दिर पनि रहेको छ ।
धनुषाको ठेरा कचुरीबाट उठेको मिथिला विहारी अर्थात् भगवान् राम तथा जनकपुरधामको अग्निकुण्डवाट उठेका किशोरीजी अर्थात् माता सीताको डोला जनकपुरधामको हनुमान गढीमा रात्रि विश्राम पछि भारतको कल्याणेश्वर स्थानका लागि फागुन २८ गते प्रस्थान गरेका थिए ।

जनकपुरधामबाट फागुन २७ गते नै शुरु भएको मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू विहारको कल्याणेश्वर स्थान, फूलहर गिरीजा स्थान, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता हुँदै आज बिहान धनुषाधाम आई पुगेका छन् ।
परिक्रमाका तीर्थयात्रीहरूले भोली धनुषाकै सतोषर, औरही हुँदै पुनः भारतको विसौल भएर पुनः कल्याणेश्वर स्थान भएर जनकपुरधाम आएर मिथिला विहारीको डोला गंगासागरको डिलमा रात्रि विश्राम गर्छ भने अन्य डोला तथा तीर्थयात्रीहरू जनकपुरधामको बाह्र विघा रंगभूमि मैदानमा विश्राम गरेपछि बिहान पञ्चकोशी अन्तरगृह परिक्रमा गरेर घर फर्किने र त्यसपछि होली खेल्ने चलन रहेको छ ।
मध्यमा मिथिला परिक्रममा सहभागी हुनका लागि प्रत्येक वर्ष नेपाल र भारतको विभिन्न भागबाट हजारौँ व्यक्ति आउने गरेका छन् । यस पटक पनि भारी सङ्ख्यामा तीर्थयात्रीहरू मध्यमा मिथिला परिक्रममा सहभागी रहेका छन् ।
नेपालको १ सय २७ किलो मिटर तथा भारतको २६ किलोमिटर गरेर कूल १ सय ३३ किलोमिटरको दूरी खाली खुट्टा भजन कीर्तन सहित तय गर्ने चलन रहेको छ । यसमा सहभागी हुनाले मनोवाच्छित फल प्राप्तिका साथै मृत्यु पश्चात् वैकुण्ठको बाँस हुने धार्मिक मान्यता रहेको कारणले प्रौढ तथा वृद्ध–वृद्धाहरू बढी मात्रामा सहभागी हुने गरेका छन् ।
परिक्रमा बाँसीका लागि पडाव स्थलमा विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरू, स्थानीय निकायले विभिन्न प्रकारको निःशुल्क शिविरको आयोजना गर्दै आएको छ । यस पटक परिक्रममा सहभागीहरूलाई खाने पानी तथा स्नानका लागि पानीको अभाव भएको परिक्रमा बाँसीले जानकारी दिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्