‘सरकारले एजेन्ट लाइसेन्स प्रणाली ल्याउने तयारी गरेको छ’
बीरगंज । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि उपजमा विद्यमान बिचौलिया प्रणाली हटाउन सरकारले ‘एजेन्ट लाइसेन्स’ प्रणाली ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।

साना किसान कृषि सहकारी संस्था डुमरवाना बाराको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले किसानका समस्या समाधान आफ्नो पहिलो दायित्व रहेको बताउनुभयो ।
उहाँले सबै खाले कृषि उत्पादनमा बिचौलिया मोटाउने र किसान मारमा पर्ने समस्या रहेको र त्यसलाई हटाउन एजेन्ट लाइसेन्स प्रणाली ल्याउने तयारीमा आफू लागिपरेको जानकारी दिनुभयो ।
कृषि मन्त्री साहले बिचौलिया व्यवस्थापन गरेपछि किसान र उपभोक्ता दुवैलाई फाइदा हुने भएकाले मन्त्रालयको कदममा साथ दिन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।
मन्त्री साहले दूध किसानको बक्यौता रकम भुक्तानीका लागि ३० करोड र पशु बीमा बक्यौताका लागि ४८ करोड रुपैयाँ अर्थ मन्त्रालयबाट निकासा स्वीकृत गरिसकेको र एक साताभित्रै दुवै समस्या अन्त्य हुने दाबी समेत गर्नुभयो ।
कृषि उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन आफूले नीतिगत रूपमा प्रक्रिया अघि बढाएको मन्त्री साहले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्