तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजस्व कार्यालय हेटौडाद्वारा ४ अर्ब राजस्व सङ्कलन

मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालू आर्थिक वर्षको आठ महिनामा ४ अर्ब ६ करोड ३८ लाख ६६ हजार राजस्व सङ्कलन गरेको छ । गत वर्षको यसै अवधिमा कार्यालयले ४ अर्ब ४ करोड ३८ लाख राजस्व सङ्कलन भएको थियो । 

कार्यालयका प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईका अनुसार चालू आर्थिक वर्षमा राजस्व विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको भए पनि गत वर्षको यसै अवधिको तुलनामा बढी राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.५ प्रतिशतले राजस्व बढी सङ्कलन भएको भट्टराईले बताउनुभयो । विभागले फागुन मसान्तसम्मका लागि ५ अर्ब ३५ करोड ९६ लाख ३ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । 

प्रमुख भट्टराईका अनुसार हालसम्म विभागले दिएको वार्षिक लक्ष्यको करिब ७६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । विभागले चालु आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षको भन्दा करिब ३४ प्रतिशत बढी लक्ष्य दिएको छ । अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ६० करोडको लक्ष्य दिइएकोमा चालु आर्थिक वर्षमा ८ अर्ब ८० करोडको लक्ष्य दिएको उहाँले बताउनुभयो । 

कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा आय कर बापत ६४ करोड २२ लाख ६२ हजार, घर बहाल करबापत एक करोड आठ लाख १७ हजार, ब्याज कर छ करोड १२ लाख १८ हजार, मूल्य अभिवृद्धि कर ७१ करोड ४५ लाख ५५ हजार, अन्तः शुल्क दुई अर्ब २३ करोड ५० लाख ४८ हजार, स्वास्थ्य सेवा कर ३९ करोड ९९ लाख ५६ हजार र अन्य कर १३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयको फागुन महिनामा मात्र ६३ करोड ९८ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा सो एक महिनामा लक्ष्यको ९०.०१ प्रतिशत अर्थात् ५९ करोड ५१ लाख २८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिला अर्थात् गत पुस मसान्तसम्ममा दुई अर्ब ९१ करोड ११ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले लक्ष्य निर्धारण बढी भएका कारण तोकिए अनुसारको राजस्व सङ्कलन गर्न कठिन भएको जनाएको छ । बजारमा व्यापार घटेको, केही कम्पनी ठूला करदाताकामा गएको, भिसिटीएसका कारण ढुवानीमा अन्योल रहेको, मदिराजन्य वस्तुहरूको विक्री वितरणमा कमी आएको, भन्सार विन्दु घटेकाजस्ता कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको जनाएको छ । 

कार्यालयले आय कर, घर बहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क र स्वास्थ्य सेवा कर शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button