निरङ्कारी सन्त समागममा भारतीयको उल्लेख्य उपस्थिति
भक्तपुर । सन्त निरङ्कारी मण्डल नेपालको आयोजनामा भक्तपुरको सल्लाघारीमा शनिबारदेखि सुरु २३औँ निरङ्कारी सन्त समागममा भारतीयहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
पहिले मानव बन, एकलाई जान, एकलाई मान र एक होऔँ भन्ने मूल नाराका साथ विश्व भाइचारा एवं शान्ति स्थापनाको उद्देश्यले यसवर्ष नेपालमा आयोजित समागममा भारतीयसहित विभिन्न देशबाट आएका अनुयायीको भीड लागको सन्त निरङकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावतले बताउनुभयो ।
शनिबार बिहानदेखि सुरु उक्त कार्यक्रममा सत गुरु माता सुदीक्षाजी महाराजले शान्ति ज्ञान प्रवचन दिनुहुनेछ । शनिबार नेपाली, नेवारी, हिन्दीलगायत विभिन्न भाषामा विभिन्न व्यक्तित्वबाट प्रवचन दिइएको र आज पनि प्रवचन एवं प्रदर्शनी जारी रहेको उहाँले बताउनुभयो ।
आज पनि बिहानैदेखि विभिन्न कार्यक्रम सुरु भएको र दिउँसो १ बजेदेखि साँझसम्म सुदीक्षाजी महाराजको प्रवचन हुनेछ । सन्त निरङकारी मण्डल भारत दिल्लीका विदेश विभाग इन्चार्ज विनोद बोहराले यहाँ जारी समागमले विश्वमा शान्ति कायम गर्न र सबैमा भाइचाराको सम्बन्ध गाँस्दै विश्व शान्तिको सन्देश प्रवाह गर्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले यो मिसन कुनै धर्म प्रचार नभएको बताउनुभयो । कार्यक्रममा हिन्दू, मुस्लिम, इसाईलगायत सबै धर्म, विचार, जातिको सहभागिता रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा मण्डलका क्षेत्रीय इन्चार्ज एवं काठमाडौँ प्रमुख बाबुराज महर्जनले समागममा आएका सबैलाई निःशुल्क खाना, पानी, बस्ने, सुत्ने, शौचालय, स्वास्थ्य शिविरको व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले भारतबाट आएका करिब एक हजार एक सय सुरक्षा स्वयंसेवक र नेपालका सात सय महिला र पाँच सय पुरुष गरी एक हजार दुई सय सुरक्षा स्वयंसेवकमार्फत कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । नेपालमा रहेका ४५ हजार अनुयायीमध्ये २० हजारभन्दा बढी समागममा सहभागी भएको उहाँको भनाइ छ ।
मण्डलका मिडिया विभाग संयोजक प्रिमल सिंहले विश्वबन्धुत्व लागि नेपालमा दुई दिने प्रवचनसहितको विश्व अभियान सञ्चालन भएको बताउनुभयो । उहाँले अभियान स्वैच्छिक अनुदानबाट सञ्चालित भइरहेको बताउनुभयो ।
उहाँले नेपालमा सन् २०२० मा अछामबाट सुरु भएको सन्त निरंकारी अभियानमा काठमाडौँ जिल्ला प्रशासनमा दर्ता गरी ३९ जिल्लामा एक सय २५ वटा भवन स्थापना गर्दै सत्सङ सञ्चालन भइरहेको बताउनुभयो । उहाँले यस अभियानबाट १२ लाख १६ हजार दुई सय १७ युनिट रगत सङ्कलन गरेको बताउनुभयो ।
अन्तर्मनको सुकुन एवं शान्तिको दिव्य सन्देशलाई विश्वभर फैलाउने उद्देश्यले सन् १९२९ मा भारतको पेशावरबाट बाबा बुटा सिंहले सुरु गरेको यो अभियान सन् १९४३ मा बाबा अवतार सिंहले, सन् २०६२ मा बाबा गुरबचन सिंहले सन् १९८० बाट बाबा हरदेव सिंहले, सन् २०१६ बाट माता सविन्दर हरदेवले र सन् २०१८ बाट सत्गुरु माता सुदीक्षाजीले यो मिसन सञ्चालन गर्दै आउनुभएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्