झापाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधामको विकासको बारेमा अन्तरक्रिया
झापा । झापाको शिबसताक्षीमा अवस्थित पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा सोमबार सरोकारवालाहरूबिच अन्तरक्रिया भएको छ ।
सताक्षीधाम धार्मिक तथा पर्यटन बिकास संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले बिगत, वर्तमान र आगामी योजना र विकासका चरणहरू सम्बन्धी आ–आफ्ना धारणाहरू राखेका थिए ।
सताक्षीधाम धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष तुलाराम जोखिमको अध्यक्षता र पूर्वसांसद तारासम योङ्याको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा सताक्षीधाम धार्मिक तथा पर्यटन विकास संस्थाका उपाध्यक्ष उदयप्रकाश राईले सताक्षीधामका योजना, विकास, प्राथमिकतासहित समस्या र चुनौतीका विषयमा प्रष्ट पार्नुभएको थियो ।
उपाध्यक्ष राईले पछिल्लो समय सताक्षीधाम धार्मिक तथा पर्यटन विकास संस्थाले सञ्चालन गरिआएका धार्मिक गतिविधिहरू, धाम क्षेत्रमा गर्न लागिएका योजना, त्यसका प्राथमिकताका विषयमा बताउनुहुँदै छिट्टै सवारी पार्किङका योजना सार्वजनिक गर्नुभएको थियो । सताक्षीधाममा आगन्तुक श्रद्धालु तीर्थयात्रीहरू र अन्य प्रयोजनमा आगन्तुक पर्यटकहरूका सुविधाका लागि सवारी साधन पार्किङ गर्नुपर्ने उपाध्यक्ष राईले योजना पेश गर्नुभएको थियो ।
उपाध्यक्ष राईले सताक्षीधामको प्रवेशद्वारको आसपासमा दुई पाङ्ग्रे र अरू हलुका सवारी साधनहरू पार्किङ गर्ने र अरू ठूला सवारी साधनहरूका लागि वनभोज स्थल नजिकै पार्किङ गर्न उपयुक्त जमिनको खोजी गरिएको बताउनुभयो ।
त्यस्तै, वहाँले सताक्षीधाम क्षेत्रभित्र विभिन्न शक्तिपीठहरु स्थापना भएको र अरू स्थापना गर्ने क्रममा रहेको कारण त्यसलाई निश्चित विधि र विधानमा रहेर सञ्चालन गर्न सताक्षीधाम धार्मिक तथा पर्यटन विकास संस्थाले भूमिका खेल्न आवश्यक रहेको बताउनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सताक्षीधाम धार्मिक तथा पर्यटन विकास संस्थाका पूर्वअध्यक्ष प्रसाद सुब्बा, पूर्व सचिव देवीबहादुर रेग्मी, सल्लाहकार रुद्रमणी भट्टराई, तेमेलुङ किरात माङहिमका सचिव अभिषेक नेम्बाङ, डिल्लीरमण खतिवडा लगायतले सताक्षीधामको धार्मिक तथा पौराणिक महत्वका बारेमा चासो राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य जुनु महरा, शिबसताक्षी–८ का वडा सदस्य रिता थापा, झिलझिले बजार व्यवस्थापन समितिका अध्यक्ष बजरग अग्रवाल, महिला नेत्री खनिमाया श्रेष्ठ, दुधे खुद्रा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण बजगाई लगायतको उपस्थिति थियो ।







प्रतिक्रिया राख्नुहोस्