उपराष्ट्रपति यादवसँग अमेरिकाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ ।
उहाँहरुबीच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध, विकास सहायता, व्यापार र साझा चासो लगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९४७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता सुमधुर सम्बन्ध रही आएको बताउनुभयो । “हाम्रो सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छ”, उहाँले भन्नुभयो, “लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता हामी दुई मुलुकहरूको साझा मूल्यमान्यताहरू हुन् ।”
उहाँले सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई विकास सहायता उपलब्ध गराउँदै आएको कुरा उल्लेखनीय रहेको बताउनुभयो । “नेपालको विकासमा अमेरिकी सहयोगको नेपालले उच्च कदर गर्दछ”, उहाँले भन्नुभयो, “अमेरिकासँगको सम्बन्धलाई नेपालले सदा उच्च महत्वका साथ हेर्ने गरेको छ ।”
उपराष्ट्रपति यादवले नेपालको संसद्ले एमसीसी अनुमोदन गरेपछि नेपालको पूर्वाधार विकासमा अमेरिकी सहयोगको सुनिश्चितता अझ बढेको बताउनुभयो ।
“नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकको स्तरोन्नतिको प्रक्रियामा अमेरिकी लगायतका विकास साझेदारहरूबाट निरन्तर सहयोग प्राप्त हुनेमा हामी आशावादी छौँ’ उहाँले भन्नुभयो, “नेपालको व्यापार तथा वाणिज्य प्रवद्र्धनका लागि प्राप्त अमेरिकी सहयोगका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।”
उपराष्ट्रपति यादवले नेपालको आर्थिक–सामाजिक विकास तथा लोकतन्त्रको सुदृढीकरणमा अमेरिकाले गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
“अमेरिकाबाट प्राप्त विकास सहायताले स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, कृषि र वातावरण लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याएको छ ’ उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि अमेरिका र नेपालले मानव कल्याणसँग सम्बन्ध राख्ने साझा चासोका विषयहरूमा सहकार्य गर्दै आएकोमा खुशी लागेको छ ।”
भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले नेपालसँग अमेरिका बलियो सम्बन्ध बनाउन चाहेको बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्रसङ्घको चार्टरलाई नेपालले समर्थन गर्नु सकारात्मक रहेको उल्लेख गर्दै नेपालमा एमसीसीले राम्ररी काम गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
“नेपाल एउटा शान्तिप्रिय देश हो । उसले रक्षाको क्षेत्रमा युएन शान्ति मिसनमा सयौँ देशको राम्रो नेतृत्व गरेकोमा नेपालको सराहना गर्न चाहन्छु ”, उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्