शिवरात्रिका लागि पोखरामा गोर्खा र तनहुँबाट २ सय ३७ मेट्रिकटन उखु भित्रियो

पोखरा । महाशिवरात्रि पर्वको अवसरमा पोखरामा यस बर्ष गोर्खा र तनहुँ जिल्लाबाट उखु भित्रिएको छ ।
भोलि (शुक्रबार) महाशिवरात्रि पर्वलाई लक्षित गरी गोर्खाको च्याङलीङ र तनहुँको दमौलीबाट पोखरामा केही दिनदेखि उखु भित्रिएसँगै उखुको बिक्री वितरण समेत बढेको व्यवसायीहरू बताउँछन् ।
पोखरा क्षेत्रमा महाशिवरात्रि पर्वको अवसरमा करिब एक करोड मूल्य बराबरको उखुको कारोबार हुने गरे पनि यस बर्ष बढी उखु भित्रिएकोले बढी नै कारोबार हुने उखु किसान सङ्गीता रिजाल जोशीले बताउनुभयो । उहाँसहितका धेरै किसानले गोर्खाबाट आफ्नो बारीमा उत्पादन भएको उखु बिक्रीको लागि पोखरा ल्याउनुभएको छ ।

यस बर्ष गत वर्षको तुलनामा ८७ मेट्रिकटन बढी उखु पोखरामा भित्रिएको पोखरा शान्तिवन वाटिकामा रहेको कृषि उपज बजार व्यवस्थापन समितिका योजना सहायक रुपा दाहालले बताउनुभयो । गत बर्ष महाशिवरात्रि पर्वलक्षित गरी १ सय ५० मेट्रिकटन उखु भएको थियो भने यस बर्ष २ सय ३७ मेट्रिकटन उखु भित्रिएको उहाँले बताउनुभयो ।
अघिल्ला वर्षमा पोखरामा महाशिवरात्रिमा गोर्खा, तनहुँसहित धादिङ, चितवन, धरान लगायतका जिल्लाबाट उखु आउने गर्दथ्यो । यस बर्ष गोर्खाको कालो जातको उखु र सेतो जातको केही मात्रमा पोखरामा भित्रिएको हो । दमौलीबाट थोरै मात्रमा उखु भित्रिएको उहाँले जानकारी दिनुभयो ।
पोखरामा उखुको १५ वटा लाँक्रोको एक मुठालाई १ हजारमा बिक्री भइरहेको छ भने सेतो पट्काउन प्रयोग हुने उखु कालो उखुको मूल्यभन्दा ५० प्रतिशत सहुलियतमा बजारमा उपलब्ध भएको खड्का बहादुर कुमालले बताउनुभयो । कुमाल सहितको टिमले आफ्नो बारीमा उत्पादन भएको उखु पोखरामा बिक्रीको लागि ल्याउनुभएको हो ।

किसानहरुले आफ्नो बारीमा उत्पादन गरेको उखु प्रत्यक्ष बिक्री वितरणका लागि पोखरा ल्याउँदा गोर्खामै ८ हजारसम्म कर तिर्नुपरेको गुनासो समेत गर्नुभयो । पोखराको बजारमा सहज ढंगले बिक्री गर्न नपाउँदा उखु समयमै नबिक्ने होकी भन्ने चिन्ता समेत भएको उहाँहरूले बताउनुभयो ।
कालो जातको उखु खानको लागि र सेतो जातको उखु शिवरात्रिको अवसरमा धुनी लगाउँदा पट्काउन प्रयोग गरिने व्यवसायी अर्जुन कुमार श्रेष्ठले बताउनुभयो । पोखरामा सामान्यतया होलसेल मूल्य कालो उखु प्रति लाँक्रो ६० देखि ९० र सेता उखुको प्रति लाँक्रोको मूल्य २० देखि ३० रुपैयाँ पर्ने पनि उहाँले बताउनुभयो ।
शिवरात्रिका दिन साँझदेखि बेलुकासम्म देशका विभिन्न ठाउँका शिव मन्दिर एवं चौतारामा धुनी लगाउने र उखु पट्काउने तथा उखु खाने प्रचलन रहेको छ । जस्ले गर्दा शिवरात्रिमा उखु धेरै मात्रामा खपत हुने गर्दछ ।







प्रतिक्रिया राख्नुहोस्