तपाईँ सुन्दै हुनुहुन्छः

दूध बक्यौता भुक्तानीको माग सहित राजमार्गमा चक्काजाम

सप्तरी । दुधको बक्यौता भुक्तानीसहितको माग राखी किसानहरूले पूर्वपश्चिम राजमार्गमा एक घण्टा चक्का जाम गरेका छन् ।

बिहीबार किसानहरूले  विभिन्न ११ सूत्रीय माग राखी पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली खडकखण्डमा एक घण्टा चक्काजाम गरेका हुन। दुग्ध उत्पादक सहकारी संघ लिमिटेड सप्तरीको नेतृत्वमा मध्यान्ह १२ बजेदेखि १ बजेसम्म सडक अवरुद्ध गर्दै किसानहरुले सडकमै दूध पोखेर प्रदर्शन गरेका हुन। 

किसानहरुले प्लेकार्ड सहित कृषि  मन्त्री राजीनामा दे, दुधको भुक्तानी अविलम्ब गर लगायतका विभिन्न नारा लगाउँदै  सडक प्रदर्शनमा उत्रिएका छन् । संघका पदाधिकारी तथा किसानहरुले सरकार दूध उत्पादकको समस्या समाधान प्रति गम्भीर नभएको भदै सडकमै दुधको खोलो बगाएर आक्रोश पोखे । 

सडक बिचमै त्रिपाल ओछ्याएर किसानहरूले प्रदर्शन गरेपछि लामो तथा छोटो दुरीमा चल्ने सयौँ सवारी साधनहरू सडकमै रोकियो भने हजारौँ यात्रुहरूले सास्ती खेप्न बाध्य भएका छन् । आन्दोलनकारीहरूले यात्रुहरूलाई महि खुवाएर आन्दोलनमा समर्थन गर्न आग्रह समेत गरेका थिए। 

दुग्ध उत्पादक सहकारी संघ सप्तरीका अध्यक्ष दिपेन्द्र कुमार आचार्यले नेपाल सरकार दूध उत्पादक किसानहरूको समस्या समाधानमा गम्भीर नभएको आरोप लगाउनु भयो । विराटनगर आयोजनाले करोडौँ रुपैयाँ किसानहरूको दुधको भुक्तानी रोकेकाले कारबाहीका लागि संघीय सरकारका कृषि मन्त्रीलाई भेटेर हारगुहार गरेको बताउँदै  उहाँले बताउनुभयो। किसानको माग सम्बोधनमा चासो नदिने कृषिमन्त्रीले तुरुन्तै पदबाट राजीनामा दिनुपर्ने माग गर्नु भयो। उहाँले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए केन्द्रिय दुग्ध सहकारी सङ्घले आव्हान गरेको आन्दोलनमा समर्थन गर्दै थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो। 

संघका पूर्व अध्यक्ष एवं  किसान  भुवन आचार्यले विराटनगर दुग्ध विकास आयोजनाले ८ महिना देखि करोडौँ भुक्तानी नदिएकोले आन्दोलनमा उत्रिनु बाध्य भएको बताउनु भयो। किसान प्रति हेर्ने सरकारको दृष्टिकोण ठिक नभएको टिप्पणी गर्दै उहाँले सरकारले समेत किसानको कुरा नसुनेपछि सबै कामकाज थाँती राखेर सडक सङ्घर्षमा उत्रिनु परेको बताउनु भयो। 

आदर्श दुग्ध विकास सहकारी संस्था महुलीका प्रबन्धक बोधराज सुवेदीले सप्तरीमा मात्र किसानहरूको ४ करोड भुक्तानी विराटनगर आयोजनाले रोकेको बताउनु भयो।

आफूहरूको समस्या बारे नेपाल सरकारलाई पटक पटक  ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि चक्काजाम सहितको दबाबमूलक चरणबद्ध आन्दोलनमा जानू परेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button