जलेश्वर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन्। जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका छन्। जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले कारागारभित्रका कैदीबन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताउनुभएको छ।
विसं १९१३ मा एक बिघा क्षेत्रफलमा निर्माण भएको दशकौँ पुराना सो कारागारको भौतिक संरचना पनि जीर्ण बनेको जानकारी दिनुभयो । उहाँका अनुसार कारागारमा हाल ३८ विदेशी (भारतीय)सहित छ सय दुई कैदीबन्दी बस्दै आउनुभएको छ।
लामो समयदेखि मर्मतसम्भार नहुँदा कारागारमा वर्षाका समयमा पानी चुहिने, गर्मीको समयमा अत्यधिक गर्मी हुने र जाडोको बेला अत्यधिक जाडो भएर कैदीबन्दीको बसाइ कष्टकर हुने गरेको जनाउनुभयो । अहिले कैदीबन्दीलाई सुत्ने, बस्ने, खाने तथा शौचालय र पानीको समेत समस्या हुन थालेको चौकीदार चनरदीप यादवले बताउनुभयो ।
कैदीबन्दीका लागि कारागारभित्र केवल २४ कोठा, १५ शौचालय, सात ह्याण्डपाइप (कल) र ६ धारामात्रै छन्। यसले कैदीबन्दीको दैनिक जीवनलाई प्रभावित बनाएको छ।
कोठा अभावमा कठ्याङ्ग्रिँदो जाडोमा धेरै कैदीबन्दीलाई बाहिर सुत्नुपर्ने , शौचालय जान पालो कुर्नुपर्ने, नुहाउन र पानी लिनका लागि लाइनमा बस्नुपर्ने तथा खुला आकाशमुनि खाना खानुपर्ने बाध्यता रहेको चौकीदार यादवले बताउनुभयो ।
यादवले भन्नु भयो,कारागारमा २० गम्भीर प्रकृतिका बिरामी र अन्य विभिन्न स्वास्थ्य समस्या भएका कैदीबन्दी ठाउँ अभावका कारण सँगै खान, बस्न, सुत्न बाध्य छन्।
सहरी विकास तथा भवन निर्माण विभागले जलेश्वर कारागार कैदीबन्दी बस्न अयोग्य भएको प्रतिवेदन नै बुझाएको बताइएको छ। जीर्ण भौतिक संरचना, क्षमताभन्दा बढी कैदीबन्दीको चाप, स्वास्थ्य खाद्यान्न तथा पानी आपूर्तिको अभाव, नियमित र स्तरीय स्वास्थ्य जाँचको अभाव, खेलकुद तथा मनोरञ्जनको अभावजस्ता समस्याका कारण विभिन्न रोगको समस्या बढ्दै गएको कारागार सुधारसम्बन्धी विगतमा गठित विभिन्न समितिको प्रतिवेदनमा उल्लेख छ। कारागार ऐन, २०१९ मा रोगी, थुनुवा वा कैदीलाई छुट्याई छुट्टै राख्नुपर्ने, पागल वा अर्धपागल थुनुवा वा कैदीलाई छुट्याई छुट्टै राख्नुपर्ने व्यवस्था रहेको छ।
प्रतिक्रिया राख्नुहोस्