तपाईँ सुन्दै हुनुहुन्छः

वर्तमान व्यवस्थाको निरन्तरतामा कुनै सन्देह छैन : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको व्यवस्था जनताकै त्याग र बलिदानबाट प्राप्त भएकाले यसको निरन्तरतामा कुनै किसिमको सन्देह नरहेको बताउनुभएको छ ।

नेपाल परम्परागत बौद्धधर्म संघ, नेपाल बज्रयान महाविहार लुम्बिनीद्वारा आज राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित राजकुल गमन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले जनताले वर्तमान गणतन्त्रात्मक व्यवस्थालाई अरू कसैलाई बुझाउँछन् की भन्ने भ्रममा नपर्न पनि सबैमा आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले बुद्ध धर्मले नेपाललाई विश्वमा चिनाएको नेपालको गरिमा बढाएको र शान्ति र ज्ञानका लागि यस धर्मको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो ।

देशका विभिन्न स्थानमा रहेका बौद्ध विहारहरूको पुनर्निर्माण र स्थापनाका लागि राज्यले ध्यान दिने छ भन्ने विश्वास व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले बुद्धको नामबाट नेपाललाई विश्व समुदाय समक्ष अगाडि बढाउनुपर्ने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल परम्परागत बौद्ध धर्म संघका चक्रेश्वर प्राध्यापक डाक्टर नरेशमान बज्राचार्यले सबै धर्म र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा राज्यले महत्वपूर्ण भूमिका खेल्दै आएकोमा खुशी व्यक्त गर्नुहुँदै वर्तमान व्यवस्थामा यस्ता कार्यले अझ बढी स्थान पाउने आफूहरूले अपेक्षा गरेको बताउनुभयो ।

सोही अवसरमा राष्ट्रपति पौडेलले लुम्बिनी स्थित नेपाल बज्रयान महाविहारबाट दीक्षित भिक्षु–भिक्षुणीहरूलाई संघदान प्रदान गर्नुभयो ।

कार्यक्रममा बौद्ध भिक्षु–भिक्षुणीहरूसँगै बौद्ध धर्मसम्बन्धी धार्मिक संघ–संस्थाका पदाधिकारी, प्रतिनिधि तथा शुभेच्छुुकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button